“पक्कै पनि फेरी आईपीएल खेल्न चाहन्छु” सन्दिप लामिछाने

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले भारतीय मिडिया टाईम्स अफ इन्डियासंगको एक्स्ल्कुसिभ कुराकानीमा आफु पुनः आईपीएल खेल्ने चाहना रहेको बतएका छन्।

टाईम्स अफ इन्डियाले त्रिकोणात्मक टि-२० सिरिजको दौरान गरेको कुराकानीको क्रममा नेपाली स्पिनरले आईपीएल अनुभव, नेपाली क्रिकेट लगायत विषयमा बोलेका छन्। सन्दिप त्रिकोणात्मक सिरिजको ५ खेलमा १३ लिंदै सर्वाधिक विकेटकर्ता रहेका थिए।

टाईम्स अफ इन्डियाले सन्दिपको परिचय दिने क्रममा आईपीएल छनोट हुने पहिलो नेपाली क्रिकेटर तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सन्दिपलाई आईपीएलमा लिनुले भारत र नेपालको सम्बन्ध अझ बलियो भएको बताएको प्रसंग उल्लेख गरेको छ।

दिल्ली क्यापिटल्स संग ३ वर्षको अनुबन्ध अवधि सकिएपछि सन्दिपलाई दिल्लीले रिलिज गरेको थियो जसपछि यो सिजन मिनी अक्सनमा सन्दिपलाई कुनै पनि टिमले लिएनन्। यो सिजन आईपीएलमा छनोट नभएको र दिल्लीले रिटेन नगरेको बारे सोधिएको प्रश्नमा सन्दिपले बताए –

“व्यक्तिगत कुरा केहि छैन। मतलब, मलाई लाग्दैन कुनै पनि टिमलाई स्पिनर आवस्यक थियो। किनकि टिम ( दिल्ली क्यापिटल्स ) स्पिनरले भरिपूर्ण छ यो सिजन। त्यसैले उनीहरु ब्याट्सम्यान चाहन्थे। केहि छैन, यस्तो हुन्छ।”

https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/256179705877973

सन्दिपले आईपीएलमा दिल्ली टिमले कैयौं यादहरु दिएको बताए –

“दिल्लीबाट खेल्ने अवसर पाउनु आफैमा गजबको अवसर थियो। यो त्यस्तो कुरा हो जुन म लामो समयको लागि सम्झनेछु। रिकी पोन्टिङको प्रशिक्षण र श्रेयस ऐयरको कप्तानीमा खेल्नु विशेष अनुभव थियो। म ३ सिजन आईपीएलमा सहभागी रहे। मैले गत सिजन भने खेल्ने अवसर पाईन, तर गजबको कुरा त्यहाँ मैले प्रक्रिया र अन्य कुराहरु सिक्न पाएँ”

आईपीएल फेरी खेल्ने आशा छ भने प्रश्नमा नेपाली स्पिनरको जवाफ थियो – “अवस्य, यदी कुनै टिमले मलाई लिएको खण्डमा म पक्कै पनि फेरी आईपीएल खेल्न चाहन्छु।”

२० वर्षीय लेग स्पिनरले कुराकानीमा शेन वार्नसंग भेटेको प्रसंगबारे पनि बोलेका छन् – “मैले वहाँलाई ( वार्नलाई ) अहिलेसम्म धेरै पटक भेटेको छु , आईपीएल र बिग ब्यासमा। वहाँसंग छोटो र मिठो कुराकानी भएको छ। वहाँले मलाई लेग स्पिनरको काम भनेकै विकेट लिईराख्ने हो, विकेट लिईराख र बलरको रुपमा बहादुर बन भन्नु भएको थियो।”

उनले एउटा लेग स्पिनरको रुपमा सबैभन्दा मन पर्ने कुरा बताएका छन् – “हेर्नुस एउटा लेग स्पिनरको रुपमा म पक्कै पनि ठुलो लेग स्पिन गर्न चाहन्छु तर मैले ब्याट्सम्यानलाई आउट पनि गर्नुपर्छ। म दायाँ हाते ब्याट्सम्यानको ब्याट र प्याडको बीचबाट मेरो ‘गुग्ली’ स्टम्पमा पुगेको बढी चाहन्छु।”

नेपालका नयाँ प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षणमा खेल्ने अनुभव बारे पनि सन्दिप बोलेका छन् –

“वहाँ जस्तो प्रशिक्षक नेपालले पाउनु सुखद कुरा हो। वहाँ आउनु भएदेखि टिममा वहाँले ठुलो प्रभाव छोड्नु भएको छ। म वहाँसंग आगामी दिनमा अझै फलदायी समय बिताउन चाहन्छु।”

प्रशिक्षक डेभ व्हाटमोरसंग सन्दिप लामिछाने

नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो रहेको कुरा उनले उल्लेख गर्दै त्रिकोणात्मक सिरिजमा दर्शकहरु मैदानमा प्रवेश नपाउदा स्टेडियम बाहिरबाट समेत समर्थन गरेको बताएका छन् –

“नेपालमा क्रिकेट यति बेला निकै लोकप्रिय छ। मानिसहरु यो खेललाई हेरीरहेका छन् र जुन माया पाईरहेका छौँ त्यो अद्भुत छ। मानिसहरु बाटोमा हिन्दा हामीलाई चिन्छन् जसले खुसि महसुस हुन्छ।”

“पहिलो २ खेल जुन हामीले खेलेका थियौं फ्यानहरुलाई स्टेडियम भित्र आउन अनुमति थियो। तर त्यसपछि बढ्दो कोभीड केसका कारण फ्यान आउन पाएनन् तर पनि फ्यानहरु स्टेडियम बाहिरबाट पनि तथा टिभीमा हेरीरहेका थिए।”

आईसीसीको नेपाली क्रिकेटलाई साथ बारे प्रश्नमा सन्दिपले आईसीसीले सहयोग गरिरहेको तर धनि भारतीय क्रिकेट बोर्डले नेपाली क्रिकेटलाई सहयोग गर्नुपर्ने धारणा राखे –

“हामीले आईसीसीबाट धेरै मद्दत पाइरहेका छौँ हालसम्म। म भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) बाट अर्को क्रिकेट खेल्ने देशलाई सहयोग आएको हेर्न चाहन्छु। किनकि अहिलेसम्म हामि आफूमै सिमित छौँ। यदी हामीले अन्य देशमा टुर गर्ने र ‘ए’ टिमसंग खेल्ने मौका पायौं भने पनि राम्रो सुरुवात हुनेछ। कम्तिमा हामीले नेपालमा नपाएको जस्तो सुबिधा पाउछौं। हामि धन्य हुनेछौँ कसैले त्यस्तो सहयोग हामीलाई गर्छ भने।”

नेपालले भारतमा आयोजना हुने विश्वकप क्रिकेट २०२३ खेल्ने बारे सोधिएको प्रश्नमा सन्दिपले विश्व कप लिग हुँदै विश्वकप छनोट हुने विश्वास व्यक्त गरे –

“हामिले अझै पनि एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप खेल्नको लागि धेरै खेल खेल्न बाँकी छ। हामीले अहिले वर्ल्ड कप लिग खेलीरहेका छौँ जहाँ नेपालले ३६ खेल खेल्नेछ। नेपालले मात्र ४ खेल खेलेको छ अहिलेसम्म र ३२ खेल खेल्न बाँकी छ। सम्भवतः हामि अर्को चरण पुग्नेछौँ।

कोभिड-१९ महामारीको दौरान बायो बबलमा बस्ने बानि परिसकेको बताए –

“मेरो लागि बायो बबलमा बस्न अहिले बानि भैसकेको छ। एक वर्ष देखि म क्यारेबियन प्रिमियर लिग, आईपीएल, बिग ब्यास, पाकिस्तान सुपर लिग र अहिले त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा बायो बबालमा बस्दै आएको छु। अहिले मेरो लागि यो सामान्य कुरा भैसकेको छ तर अन्य नेपाली खेलाडीको लागि यो बिल्कुल नयाँ अनुभव हो।”

सम्बन्धित 

https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/

https://wicketnepal.com/psl-sthagit-sandip-farkane-wn21/

https://wicketnepal.com/punjab-batting-approach-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy