सन्दिपको बलिंगमा फिक्सिंगको आरोप, के हो वास्तविकता ?

२०७५ चैत्र १८, सोमबार २२:५०

  • विकेटनेपाल, चैत-१८ 

सोमबार बिहान इन्डियन प्रिमियर लिग आईपीएलका पुर्व अध्यक्ष तथा कमिस्नर ललित कुमार मोदीले एउटा भिडियो आफ्नो ट्वीटरमा अपलोड गरे जसमा उनले दिल्ली र कोलकाता बीचको खेलमा म्याच फिक्सिंग भएको आरोप लगाएका छन्।

खेलमा कोलकाताले टस जितेर पहिले ब्याटिंग गर्दै गर्दा चौथो ओभरमा सन्दिप लामिछाने बलिंग गर्दै थिए। ओभरको पाँचौ बलमा सन्दिपले बलिंग गर्न लाग्दा भिडियोमा विकेटकिपर तथा भारतीय राष्ट्रिय क्रिकेटर रिशभ पन्तले बोलेको कुरालाई मोदीले म्याच फिक्सिंगसंग जोडेका हुन।

“यो मजाक हो ? म विश्वास गर्न सक्दिन। म्याच फिक्सिंगको ठुलो श्रेणी। आईपीएल, बिसीसीआई, आईसीसी जाग। #लजास्पद कुनैपनि अफिसियलले यसको वास्ता गरेनन्”

मोदीले यस्तो लेखेर ट्वीट गरेपछि धेरैले भिडियो रि-ट्वीट गरेका छन् भने बिभिन्न धारणाहरु राखेका छन्। सोहि भिडियो सामाजिक संजालमा भाईरल बनेपछि नेपाली स्पिनर सन्दिप लामिछाने त कतै मुछिएनन् भन्ने चिन्ता नेपाली समर्थकहरुमा जाग्यो।

भिडियोमा एकजना व्यक्ति बोलिरहेका छन् र उनले म्याच फिक्सिंग हेर्नुस प्रत्यक्ष हेर्नुस भनेका छन्।

रिशभ पन्तले भिडियोमा “ए तो भाई ऐसे भी चौका हे” भनेका छन् जसको मतलब नेपालीमा ‘यो त त्यसै पनि चौका हो” हुन्छ। पन्तले त्यसो भन्ने बितिकै ब्याटिंग गरिरहेका रोबिन उथप्पाले सन्दिपको बललाई ड्राइभ गर्दै चौका प्रहार गर्छन।

यही घटनालाई मोदी र बिभिन्न अन्य व्यक्तिहरुले बल गर्नु अघिनै चौकाको भविष्यवाणी गरेको भन्दै म्याच फिक्सिंगको आरोप लगाएका हुन।

के हो सत्यता ? 

भिडियो भाइरल भए पछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले घटना बारे स्पष्टीकरण दिएको छ र यो घटना फिक्सिंगसंग कुनै पनि हिसाबले नजोडीएको बताएको छ।

“कसैले पनि रिशभ पन्तले त्यो शब्द बोल्नु अघि के बोलेका थिए सुनेनन्। उनले दिल्ली कप्तान श्रेयस ऐयरलाई अफ साइडमा फिल्डर बढाएर निश्चित जसो चौका रोक्न अनुरोध गरेका थिए” बिसीसीआई अफिसियलले बताएको छ।

“घटनाको सत्यता नबुझी युवा क्रिकेटरलाई फसाउन खोज्नु दुर्भाग्यपूर्ण छ। घटनालाई विस्तृत रुपमा नबुझी युवा प्रतिभालाई अपसब्द प्रयोग गर्नु घृणायुक्त छ”

भिडीयो नकरात्मक रुपमा भाइरल भए पछि आईपीएलको स्ट्रिमिंग राइट पाएको हटस्टारले भिडियो हटाउन प्रयास गरेको बताएको छ।

निकैनै रोमान्चक रुपमा सम्पन्न भएको उक्त खेलमा दिल्लीले कोलकातालाई सुपर ओभरमा पराजित गरेको थियो। खेलमा सन्दिपले १ विकेट लिएर किफायती बलिंग गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy