राशिद, ताहिर र हसरंगालाई पछि पार्दै सन्दिपको ठूलो कीर्तिमान

२०७८ फाल्गुन २, सोमबार १८:४५

ओमानमा जारी चार देशीय टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत आयरल्याण्डसंगको खेलमा नेपाली टिमका कप्तान सन्दिप लामिछानेले ठूलो कीर्तिमान आफ्नो नाम गरेका छन्।

खेलमा २६ रन खर्चेर एक विकेट लिएका लेग स्पिनर टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्। सन्दिपले मात्र २९ खेलमा यो कीर्तिमान बनाएका हुन्। सन्दिपले सन् २०१८ मा आईसीसी वर्ल्ड-११ को लागि खेल्दै वेस्टइन्डिज-११ बिरुद्ध डेब्यु गरेका थिए।

सन्दिपले अर्को ठूलो कीर्तिमान पनि आफ्नो नाम गरेका छन्। उनि टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै तेश्रो छिटो ५० विकेट पुरा गर्ने बलर बनेका छन्। यस क्रममा उनले इमरान ताहिर, राशिद खान, वानिन्दु हसरंगा, मुस्तफिजुर रहमान, युजभेन्द्र चहल, डेल स्टेन, उमर गुल, ट्रेन्ट बोल्ट जस्ता बलरलाई समेत पछि पारेका छन्।

सन्दी भन्दा छिटो दुई जना बलरले मात्र ५० विकेट पुरा गरेका छन्। श्रीलंकन स्पिनर अजन्था मेन्डीसले मार २६ खेलमा तथा आयरल्याण्डका मार्क अडेरले मात्र २८ खेलमा ५० विकेट पुरा गरेका थिए। इमरान ताहिर र राशिद खानले समान ३१ खेलमा, वानिन्दु हसरंगाले ३२ खेलमा, मुस्तफिजुर रहमानले ३३ खेलमा तथा युजभेन्द्र चहलले ३४ खेलमा उक्त कीर्तिमान बनाएका थिए।

सन्दिपले सबैभन्दा धेरै विकेट मलेसियासंग ६ खेलमा १३ विकेट तथा नेदरल्याण्डसंग ५ खेलमा १२ विकेट लिएका छन्। युएईसंग ४ खेलमा ६ विकेट, जिम्बाब्वेसंग २ खेलमा ५ विकेट उनले लिएका छन्। आयरल्याण्ड, कुवेत र कतार बिरुद्ध उनले समान तिन विकेट तथा ओमान र हंगकंगसंग समान दुई विकेट लिएका छन्। सिंगापुर बिरुद्ध उनले २ खेल खेल्दा विकेटविहिन रहेका छन्। उनले नेपालमा १३ विकेट लिएका हुन् भने अन्य देशमा खेल्दै ३७ विकेट लिएका हुन्।

सन्दिपले ५० विकेट पुरा गर्ने क्रममा दुई पटक एकै खेलमा ४ विकेट लिएका छन्। यस क्रममा उनले १४.२४ को औशत, १२.५ को स्ट्राइक रेट र ६.७८ को इकोनोमिले बलिंग गरेका छन्।

सन्दिपले समग्र टि-२० क्रिकेटमा पनि १ सय विकेट लिने पहिलो नेपाली बलर हुन्। उनले ११७ टि-२० खेल्दा १५४ विकेट लिईसकेका छन्। उनि एकदिवसीय फर्म्याटमा पनि नेपालको सर्वाधिक विकेटकर्ता हुन् जसले १६ खेलमा ४१ विकेट लिईसकेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy