सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

२०७९ कार्तिक १७, बिहीबार १६:५८

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुछको मुद्दाको बहस आज पनि हेर्दाहेर्दैमा परेको छ । काठमाडौँ जिल्ला अदालतमा दोस्रो दिन बिहीबार भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भइरहेको बहसमा बुधबार वरिष्ठ अधिवक्ताहरू लव मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारीले सन्दीपको पक्षमा बहस गरेका थिए ।

लामिछानेको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका थिए । यसअघि थुनछेक बहसको पहिलो दिन बुधबार जाहेरवालाको तर्फबाट ७ जना र सन्दीपको पक्षबाट २ जनाले बहस गरेका थिए ।

गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लीग खेल्न जमैकामा पुगेका थिए ।

प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो । प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौँ आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy