सन्दिपको स्थानमा वर्सेस्टरशायरले बोलायो न्युजिल्यान्डका लेग स्पिनर

२०७८ जेष्ठ २३, आईतवार १०:३०

नेपाली लेग स्पिनर सन्दिप लामिछानेको कन्ट्रयाक्ट रद्द गरेको इंग्ल्यान्ड काउन्टी क्रिकेट क्लब वर्सेस्टरशायरले न्युजिल्यान्डका लेग स्पिनर इश सोढिलाई टिममा अनुबन्ध गरेको छ।

वर्सेस्टरशायरले शनिवार राति ट्वीटर मार्फत आफ्नो दोश्रो विदेशी खेलाडीको रुपमा २८ वर्षीय सोढिलाई अनुबन्ध गरेको जानकारी गराएको हो। टिममा अर्का विदेशी खेलाडीको रुपमा अस्ट्रेलियन फास्ट बलर बेन ड्वारसुइस रहेका छन् जो इंग्ल्यान्ड पुगीसकेका छन्।

‘भाईटालिटि टि-ट्वान्टी ब्लास्ट’ प्रतियोगिता जुन ९ तारिख देखि सुरु हुँदैछ।

वर्सेस्टरशायरले आफ्नो वेबसाइटमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने भिसा र पासपोर्ट समस्याको कारण प्रतियोगिताबाट बाहिर भएको समेत जानकारी गराएको छ।

“२८ वर्षीय खेलाडी जसले न्युजिल्यान्डको लागि सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेट खेलीसकेका छन् उनले नेपाली स्पिनर सन्दिप लामिछानेलाई प्रतिस्थापन गर्नेछन् जो भिसा र पासपोर्ट समस्याका कारण बाहिर भएका हुन्।” वर्सेस्टरशायरले वेबसाइटमा उल्लेख गरेको छ।


साथै वर्सेस्टरशायरले इश सोढि पुरा सिजन खेल्नको लागि उपलब्ध हुने बताएको छ जो यो साता अन्त्यसम्म इंग्ल्यान्ड पुग्नेछन्।

सोढिले न्युजिल्यान्डको लागि १७ टेस्ट, ३३ ओडीआई र ५७ टि-२०आई खेलीसकेका छन् जो सन् २०१८ मा नम्बर-१ टि-२० अन्तर्राष्ट्रिय बलर समेत रहेका थिए। उनले आईपीएल, बिग ब्यास र करेबियन प्रिमियर लिग जस्ता प्रतियोगिता समेत खेलीसकेका छन्।

निराश सन्दिप 

समयमा भिसा र पासपोर्ट हात नपरेपछि पहिलो पटक काउन्टी क्लबमा अनुबन्धित भएका सन्दिप प्रतियोगितामा भने सहभागी हुन जान नपाउदा निराश देखिएका छन्। वर्सेस्टरशायरले कन्ट्रयाक्टनै राद्द गरेर अर्को खेलाडी प्रतिस्थापनमा बोलाएपछि फेसबुक लाइभमा शनिवार राति सन्दिप निकै भावुक हुँदै प्रस्तुत भएका थिए। ४-५ दिन मात्र छिटो भिसा-पासपोर्ट हात लागेको भए सन्दिप खेल्न जान पाउने थिए।

“म वर्सेस्टरशायरको हिस्सा हुने छैन र त्यसको पछाडीको कारण भिसा र पासपोर्ट ढिला हुनु हो”

“एकजना दाईले फ्लाइट मिलाउनु भएको थियो तर कन्ट्रयाक्टनै रद्द भएपछि म अब जान पाउदिन।”

“मलाई थाहा छैन, कहाँ के भएन। जुन दिन मेरो फ्लाइट थियो त्यसको १-२ दिन अघि मैले ट्वीट गरेको थिए। भिसा पाउदा मिति हेर्दा थाहा भए भिसा त लागिसकेको थियो तर पासपोर्ट किन ढिला आयो। फ्लाइटहरु पनि भारतबाट आइरहेको थियो तर किन ढिला भयो अहिलेसम्म थाहा छैन। यो लापरबाही कहाँबाट भयो थाहा पाउन सकीरहेको छैन”

“म खुसि छैन, काउन्टी ठुलो अवसर थियो, एसोसिएट राष्ट्रको खेलाडीको लागि। एकदम मुस्किलले यस्तो मौका पाउने गर्छौ।”

“अन्तिम पटक अमेरिकी एम्बेसीले पनि यस्तै दुर्व्यवहार या लापरवाही गरेको थियो जुन कुरा मैले बाहिर भनिन। मलाई दुख लाग्ने कुरा के भने मैले ट्वीट गर्दा समेत मैले इंगित गरेको कसैले पनि मलाई सहयोगको लागि प्रयास गर्छु समेत भनेनन् न कसैले व्यक्तिगत म्यासेजनै गर्नु भयो।”

“अवसर फेरी पनि आउछ तर अर्को टिम माथि यसले कस्तो असर पर्ला। अर्को कुनै टिमले फेरी लिन खोज्ला कि नाई ? ”

“यो देशको खेलाडीहरुले कहिले त्यो सम्मान पाउनेछन् जसको हकदार छन् ?”

सन्दिप ‘द हन्ड्रेड लिग’ खेल्न जाने 

‘भाईटालिटि टि-ट्वान्टी ब्लास्ट’ को कन्ट्रयाक्ट रद्द भएता पनि नेपाली लेग स्पिनर जुलाई २२ तारिख देखि इंग्ल्यान्डमा संचालन हुने ‘द हन्ड्रेड’ लिगमा भने सहभागिता जनाउनेछन्। उनि जुनको दोश्रो वा तेश्रो साता इंग्ल्यान्ड प्रस्थान गर्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

लिगमा सन्दिपलाई ओभल इन्भिन्सिबल टिमले अनुमानित करिब १ करोड नेपाली रुपैयाँ अनुबन्ध गरेको बताईएको छ। द हन्ड्रेड लिगमा सहभागिता पछि नेपाली स्पिनर इंग्ल्यान्डबाटै करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० खेल्न वेस्टइन्डिजतर्फ प्रस्थान गर्नेछन्। अगस्ट २८ तारिख देखि सुरु हुने सिपिएल टि-ट्वान्टीमा नेपाली स्पिनर डिफेन्डिङ च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सबाट खेल्दैछन्।

सम्बन्धित 

वर्सेस्टरशायरद्वारा सन्दिपको कन्ट्रयाक्ट रद्द

“पक्कै पनि फेरी आईपीएल खेल्न चाहन्छु” सन्दिप लामिछाने

सन्दिप नाइट राइडर्सबाट सिपिएल खेल्ने पक्का, को-को छन् टिममा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy