सन्दिप लामिछानेले राष्ट्रिय क्रिकेट टिमको खेल जुधेकाले करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) नखेल्ने भएपछि ट्रिनबागो नाइट राइडर्सले पाकिस्तानी लेग स्पिनर यासिर शाहलाई प्रतिस्थापनको रुपमा टिममा अनुबन्ध गरेको छ।
सिपिएल अगस्ट २६ देखि सेप्टेम्बर १५ तारिखसम्म सेन्ट किट्समा आयोजना हुँदैछ। नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्यु गिनीसंग सेप्टेम्बर ५ र ८ तारिखमा दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा त्यसपछि विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग सेप्टेम्बर १३ देखि २० तारिखसम्म त्रिकोणात्मक सिरिज खेल्दैछ। उक्त सिरिजमा सहभागी हुन सन्दिप आगामी साता नेपाली टिमसंगै ओमान प्रस्थान गर्दैछन् त्यसैले उनले सिपिएल टि-२० गुमाउने भएका हुन्।
सन्दिपसंगै जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजा पनि राष्ट्रिय टिमक ड्युटीको कारण सिपिएल खेल्नेछैनन्। राजाको स्थानमा ट्रिनबगोले न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम सेफर्टलाई अनुबन्ध गरेको छ।
“लामिछाने र राजा अन्तर्राष्ट्रिय ड्युटीमा हुनाले शाह सन्दिपको तथा सेफर्ट राजाको स्थानमा अनुबन्धित भएका हुन्।” ट्रिनबागोका व्यवस्थापक कोलिन बोर्डले बताए। उनले थप बताए – “यासिर निकै अनुभवी खेलाडी हुन् जसले ट्रिनबागोको लागि बिगतमा पनि खेलीसकेका छन्। बल र ब्याटबाट समेत उनि क्षमतावान छन् जसको अनुभव टिमको लागि महत्वपूर्ण हुनेछ।”
३५ वर्षीय शाहले पाकिस्तानको लागि ४६ टेस्ट, २५ एकदिवसीय खेल्ने क्रममा २३५ र २४ विकेट लिएका छन्। दुईवटा टि-२० खेलेका उनि विकेटविहिन रहेका थिए। ३३ खेलमा २ सय विकेट लिंदै शाह विश्वकै सबैभन्दा छिटो २ सय टेस्ट विकेट लिने खेलाडी बनेका थिए।
डिफेन्डिङ च्याम्पियन ट्रिनबागोको कप्तान काईरन पोलार्ड रहेका छन् भने टिममा सुनिल नारायण, रभी रामपाल, कोलिन मुनरो, डेरेन ब्राभो, लेन्डल सिमोन्स, इसुरु उडाना, खरी पीएरे, दिनेश रामदिन, अकेल होसेन जस्ता खेलाडीहरु रहेका छन्।
सन्दिपले पछिल्लो तिन सिजन करेबियन प्रिमियर लिग खेलेका थिए। २०१८ मा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सबाट खेलेका उनि दोश्रो सिजन २०१९ मा बार्बेडोस ट्राईडेन्ट्सबाट खेलेका थिए। गत सिजन उनले जमैका तलावाजको प्रतिनिधित्व गरेका थिए जुन क्रममा प्रतियोगिताकै पाँचौ सर्वाधिक विकेट कर्ता रहेका थिए। उनले ११ खेलको १० इनिंग्समा बलिंग गर्दै ११ विकेट लिएका थिए जुन क्रममा उनको इकोनोमी मात्र ५.२७ प्रतिओभर रहेको थियो।
यो वर्ष फेब्रुअरीमा बिग ब्यास लिग खेलेपछि सन्दिपले कुनै पनि विदेशी लिग खेलेका छैनन्। भिसा समस्याका कारण उनले इंग्ल्यान्डको दुई प्रतियोगिता द हन्ड्रेड र टि-२० ब्लास्ट गुमाउन पुगेका थिए। पाकिस्तान सुपर लिगमा उनि राशिद खानको प्रतिस्थापनमा खेल्न पुगेता पनि कोरोनाका कारण लिग स्थगित हुँदा खेल नखेली नेपाल फर्कनुपरेको थियो।
सिपिएल टि-२० गत सिजन जस्तै यो सिजन पनि एउटै मैदानमा खेलिनेछ। सेन्ट किट्सको वार्नर पार्क मैदानमा आयोजना हुने प्रतियोगितामा कुल ३३ खेल खेलिनेछ। मैदानमा दर्शक क्षमता ८ हजार भन्दा आधा दर्शकलाई प्रवेश दिईने बताईएको छ। मैदान प्रवेश गर्ने दर्शकहरुले कोरोना बिरुद्धको भ्याक्सिन अनिवार्य लगाएको हुनु पर्नेछ।
