“पिच यस्तो-त्यस्तो भन्ने बहाना बनाउँदिन, जहिलेसम्म बल राम्रो ठाउँमा राख्छु सबैलाई गार्हो हुनेछ” सन्दिप लामिछाने ( अन्तर्वार्ता )

२०७८ भाद्र ८, मंगलवार १८:५०

Sandeep Lamichhane

पपुवा न्यु गिनीसंग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र विश्वकप लिग -२ अन्तर्गत ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान भ्रमणमा जानु अघि लेग स्पिनर सन्दिप लामिछानेसंग गरिएको कुराकानी।

लामो समय पछि खेल्दैछौँ, ओमान भ्रमणको तयारी कस्तो भयो ? 

तयारी राम्रो भैरहेको छ। म लामो अन्तरल भन्न चाहन्न किनकि हामीले यो बीचमा प्रधानमन्त्री कप र मेयर्सकप पनि खेल्यौं। दुर्भाग्यवस वर्षाको कारणले राम्रो अभ्यास गर्न पाएनौ तर पनि बहाना बनाउँनु हुँदैन। त्यसै कारणनै हामि खेल सुरु हुनु भन्दा अगाडीनै ओमान भ्रमणमा जाँदै छौ। तयारी राम्रो छ सबै मानसिक रुपमा बलियो र तयार छन्।

पारस खड्का बिना नेपाली टिम पहिलो पटक औपचारिक रुपमा खेल्दैछ , उनको अनुपस्थितिबारे के भन्नुहुन्छ ? 

उनि त्यस्तो व्यक्ति हुन् जसको उपस्थितिले ठूलो भिन्नता ल्याउछ त्यसैले त्यो उपस्थिति नहुनु दुर्भाग्य हो। तर हामि अब अघि बढ्नु पर्छ। एउटा समय आउंछ, सबै खेलाडीहरु रिटायर हुने गर्छन्। सबै कुरा याद हुनेछ, वहाँले फिल्डमा गर्नु भएको सबै चिज र वहाँको गाईडेन्सहरु। अब त्यो कुरा बिर्सेर अगाडी बढ्नु जरुरि छ जसले भोलिको दिनको लागि सजिलो पार्नेछ। यो प्रतियोगितामा राम्रो गर्यौं भने त्यो पारस खड्कालाई समर्पित हुनेछ।

प्रशिक्षक व्हाटमोरको कार्यकालमा पहिलो पटक नेपाल एकदिवसीय फर्म्याट खेल्दैछ, वहाँसंग कस्तो अनुभव भैरहेको छ ?

यो फर्म्याटमा नयाँ भएता पनि वहाँ पुरानो भैसक्नु भएको छ, करिब एक वर्ष भैसकेको छ। वहाँअंग धेरै अनुभव छ, जति हुन्छ हामीले वहाँबाट सिकीरहेका छौँ।

बिभिन्न कारणले एक पछि अर्को विदेशी लिग गुमाईरहनु भएको छ, त्यसले गर्दा तपाईलाई कति असर गरिरहेको छ ? 

ति कुराहरुले मलाई खासै असर गर्दैन। एक दुई दिन चिन्ता त लाग्छनै तर जीवन यस्तै हो अघि बढीरहन्छ। त्यो सबै बिर्सेर अगाडी ध्यान दिनु पर्छ। भाग्यवस नेपालको खेल छ त्यो नभएको भए बरु चिन्ता हुन्थ्यो होला, तर फिल्डमा फर्केको छु खुसि छु र ओमान सिरिजमा पुरै केन्द्रित छु।

Sandeep Lamichhane
Sandeep Lamichhane

विदेशी लिग भन्दा नेपाललाई प्राथमिकतामा राख्दा तपाईको व्यवसायिक विकास रोकिएको जस्तो लाग्छ या के छ धारणा ?

मैले सुरुमा क्रिकेट खेल्नु भन्दा अगाडी कहिले पनि यो सोचेर खेलिन कि आईपीएल खेल्छु। मैले नेपालको लागि खेल्छु भनेर मैले सोचेको थिए त्यसैले नेपाललाई पहिलो प्राथमिकतामा राख्ने गरेको छु। चाहे त्यो इस्टर्न रिजन प्रतियोगिता होस् अथवा सानो होस् या ठूलो प्रतियोगिता मैले देशलाई प्राथमिकतामा राखेको छु र त्यो हुनु पनि पर्छ। आउँदो पिडीलाई पनि म के भन्न चाहन्छु भने देशलाई प्राथमिकता दिनु पर्छ। हामि यहींबाट गएका हौँ त्यसैले पहिले देश अनि बल्ल विदेशी लिग।

अन्य लिगमा राम्रो प्रदर्शन गर्दै पुनः आईपीएलमा पुग्ने अवसर पनि थियो, लगातार अन्य लिगहरु पनि गुम्दा तपाईलाई कति असर परिरहेको छ ?

तिन वर्ष जति पनि फ़्रेन्चाइज् लिग खेले सबैमा राम्रो भयो। समग्रमा आंकडाहरु पनि राम्रो छ र मलाई लाग्छ यो कुराले मलाई मद्दत गर्छ अघि बढ्न। टिमहरु अझै मलाई खोजिरहेका छन्, दुर्भाग्यवस सिपिएल पनि गुम्यो तर त्यो सबै कुरा छोडेर देशको लागि खेल्ने बारे सोच्नु जरुरि छ। आगामी दिनमा बिग ब्यास लगायत लिगहरु बाँकी छन्। जब सम्म देशको खेल जुध्दैन, कुनै समस्या हुनेछैन।

आईपीएल दोश्रो फेज खेल्ने सम्भावना कति छ ? 

अहिलेसम्म समाचार आएको छैन केहि पनि। अहिलेसम्म ईपीएलको लागि तयार छु, आईपीएलको लागि अहिलेसम्म खबर आएको छैन।

ओमान भ्रमणको ६ वटा खेलहरु कति महत्वपूर्ण छ ?

सबै खेलहरु महत्वपूर्ण छ, त्यो भन्दा पनि त्रिकोणात्मक सिरिजको ४ खेल अझ महत्वपूर्ण छ। सबै खेल जित्नु जरुरि छ र हामि जित्न योग्य पनि छौँ र त्यसको लागि प्रयत्न गर्ने छौँ। सबै खेलाडीहरु उत्साहित छन्। अघिल्लो प्रतियोगिताको नतिजाले पनि हामीलाई थप उर्जा दिएको छ। पपुवा न्यु गिनी संगको दुई वटा खेलले मुख्य खेल अघि अभ्यासको राम्रो अवसर हुनेछ।

अन्तिम पटक अमेरिकासंग खेल्दा तपाईको प्रदर्शन निकै राम्रो थियो। तर ओमानको परिस्थिति फरक छ ( पिच स्पिनर सहयोगी छैन ) , कसरि लिनु भएको छ ?

यति धेरै ठाउँमा खेलीसके त्यसैले पिच यस्तो-त्यस्तो छ भन्ने बहाना बनाउँदिन। गएर बलिंग राम्रो गर्ने हो, जहिलेसम्म म बल राम्रो ठाउँमा राख्न सक्छु सबैलाई गार्हो हुनेछ। मैले गल्ति गरे भने व्यक्तिगत संगै टिमलाई पनि असर गर्नेछ। त्यहाँको पिच नेपालको भन्दा फरक हुनेछ, घाँसे र फ्ल्याट विकेट हुनेछ तर त्यसको लागि हामिसंग बलर र ब्याट्सम्यानहरु तयार छन्। त्यसैले त्यहाँ गएर योजना लागु गर्न उत्साहित छु। मेरो लय राम्रो छ अभ्यासहरुमा जसलाई कायम गर्न चाहनेछु।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy