अम्पायरसंग विवाद गर्दा सन्दिपलाई कारवाही

२०७५ कार्तिक १७, शनिबार १९:५५

  • विकेटनेपाल, कार्तिक १७ 

पोखरामा जारि पोखरा प्रिमियर लिग ( पिपिएल टि-२० ) क्रिकेट प्रतियोगिता अन्तर्गत बिराटनगर टाईटन्सका कप्तान सन्दिप लामिछानेलाई अम्पायरले कारवाही सहित डि-मेरिट अंक दिएका छन्।

शनिबार लिग अन्तर्गतको अन्तिम खेलमा चितवन राइनोजसंगको खेलमा अम्पायरले दिएको निर्णयको अनादर गर्दा सन्दिपलाई म्याच रेफ्री सत्यजित सरकारले उक्त कारवाही गरेका हुन्।

खेलको दोश्रो इनिंगको चौथो ओभरको अन्तिम बलमा किशोर महतोको बललाई नोबल घोषणा गरेपछि सन्दिपले त्यसको बिरोधमा अन्फिल्ड अम्पायर संजय सिग्देलसंग विवाद गरेका थिए।

अम्पायरसंग विवाद पछि सन्दिपको विपक्षमा मैदानमा उपस्थित दर्शकहरुले सन्दिप घमण्डी भन्दै नाराबाजी गरेका थिए। केहि बेर नाराको प्रतिबाद नगरेका सन्दिपले केहि बेर पछि दर्शकहरुले त्यसो भन्दै गर्दा दर्शक पट्टि फर्केर हात उचाल्दै उकासेका थिए र तालि समेत बजाएका थिए।

सन्दिपसंगै सोहि खेलमा सन्दिप जस्तै आरोपमा किशोर महतो, सन्नी पटेललाई पनि अम्पायरको निर्णयको अनादर गरेको र निर्णयबारे अनावस्यक विवाद गरेको आरोपमा म्याच रेफ्रीले स्पस्टिकरण लिएका छन् र चेतावनी समेत पाएका छन्।

यस्तै आजकै पहिलो खेलमा काठमाडौँ रोयल्सको खेलाडी अमर सिंह रौटेलालाई पनि अम्पायरको निर्णयको अनादर गरेको आरोपमा म्याच रेफ्रीले डी-मेरिट अंक दिएका छन्।

आरोप लागेका सम्पूर्ण खेलाडीहरुले म्याच रेफ्रीसंग आफ्नो गल्ति स्वीकार गरिसकेको कारण अन्य कारवाही गरिएको छैन।

के-हो डी-मेरिट अंक ? 

अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ बाट प्रयोगमा आएको डी-मेरिट अंक खेलाडीको अनुसासन कायम गर्न प्रयोग गरिने मापदण्ड हो। अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी-मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम  छ।

खेल पछि विकेटनेपालसंगको कुराकानीका क्रममा म्याच रेफी सत्यजित सरकारले बताए अनुसार  नेपाली घरेलु क्रिकेटमा भने डी-मेरिट अंक १२ महिनासम्मको समयका लागि रहने छ। पिपिएल क्रिकेटका क्रममा सन्दिप लामिछानेले पाएको डी-मेरिट अंक नेपालमा आयोजना हुने सबै घरेलु क्रिकेट प्रतियोगिताका लागि १२ महिनासम्म रहने जानकारी समेत सरकारले विकेटनेपाललाई दिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy