सन्दिपले सिपिएल टि-२० पनि गुमाउने

२०७८ भाद्र १, मंगलवार १३:५३

Sandeep Lamichhane

यो वर्ष फेब्रुअरीमा अस्ट्रेलियामा बिग ब्यास लिग खेलेपछि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले कुनै पनि विदेशी फ़्रेन्चाइज् लिग खेलेका छैनन्। दिल्लीले रिटेन नगरेपछि आईपीएल अक्सनमा बिक्रि नभएका नेपाली स्पिनरले पाकिस्तान सुपर लिगमा राशिद खानको स्थानमा खेल्ने मौका पाएता पनि कोभिड-१९ का कारण लिग स्थगित हुँदा पाकिस्तान पुगेर पनि सन्दिप खेल नखेली फर्कनुपर्यो। त्यसपछि भिसा समस्याका कारण लगातार दुईवटा इंग्ल्यान्डको घरेलु टि-ट्वान्टी लिग टि-२० ब्लास्ट र द हन्ड्रेड गुमाउन पुगे।

सन्दिपले लगातार अर्को विदेशी लिग करेबियन प्रिमियर लिग टि-ट्वान्टी ( सिपिएल ) पनि गुमाउने भएका छन्। करेबियन प्रिमियर लिग अगस्ट २६ तारिख देखि सेप्टेम्बर १५ सम्म सेन्ट किट्समा खेलिनेछ। सन्दिपलाई डिफेन्डिङ च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सले यो सिजन अनुबन्ध गरेको थियो। गुग्ली ब्वाईले यस अघि २०१८ देखी २०२० सम्म लगातार तिन सिजन सिपिएल खेलेका थिए।

नेपालले पपुवा न्यु गिनीसंग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा त्यसलगत्तै विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग खेल्ने त्रिकोणात्मक सिरिजका कारण अर्को ठूलो लिग पनि गुमाउने भएका हुन्।

ओमान भ्रमणमा नेपाली टिम अगस्ट २४ तारिखमा ओमानतर्फ प्रस्थान गर्ने सम्भावना रहेको छ जसपछि टिम सेप्टेम्बर २० तारिखसम्म ओमानमा रहनेछ। सन्दिप टिमसंगै ओमान जाने पक्का भैसकेको छ। ओमान त्रिकोणात्मक सिरिज सकिंदा सिपिएल  सकीसकेको हुन्छ। नेपाली टिम ओमान पुगेर क्वारेन्टाइन बसेपछि केहि दिन त्यहाँ अभ्यास गर्नेछ र पपुवा न्युगिनीसंग एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। क्वारेन्टाइन अवधि कति हुने निर्क्यौल नभएता पनि सकभर एक दिन मात्र क्वारेन्टाइन बसाउने प्रयास क्यानले गरिरहेको छ।

नेपालले पपुवा न्यु गिनीसंग सेप्टेम्बर ५ र ८ तारिखमा दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। त्यसपछि सेप्टेम्बर १३ देखि २० तारिखसम्म ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। ओमान भ्रमण पछि सन्दिपले सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग खेल्नेछन्। यो पटक लिगमा उनि काठमाडौँ किंग्स-११ को कप्तानको रुपमा उत्रनेछन् जुन टिममा पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी पनि अनुबन्धित भइसकेका छन्।

सन्दिप उपलब्ध नहुने भएपछि उनको प्रतिस्थापनमा ट्रिनबागो नाइट राइडर्सले अर्को विदेशी खेलाडीको छिट्टै घोषणा गर्न सक्नेछ। सन्दिपको व्यवस्थापनले भने हालसम्म सिपिएलमा सन्दिपको सहभागिता बारे अधिकारिक जानकारी गराएको छैन।

सिपिएलमा राम्रो प्रदर्शन गरेको खण्डमा आगामी सिजन आईपीएलको अक्सनमा सन्दिपको पुनः ढोका खुल्ने सम्भावना प्रवल मानिएको थियो। उक्त अवसरसंगै अर्कोतर्फ विदेशी लिगमा अनुबन्धित भए बापत पाउने मोटो रकम पनि उनले गुमाउनु परेको छ। द हन्ड्रेड लिग गुमाएका कारण करिब एक करोड नेपाली रुपैयाँ ( ६० हजार पाउण्ड ) गुमाएका सन्दिपले टि-२० ब्लास्ट, पाकिस्तान सुपर लिग तथा सिपिएल गुमाउदा ठूलो आर्थिक नोक्सान बेहोरेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy