सन्दिपले न्याय पाउनु पर्ने राष्ट्रिय क्रिकेटरहरुको माग, सन्दिप भेट्न थुनामा पुगे थारांगा

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले क्रिकेटर सन्दिप लामिछानेलाई चांडो न्याय दिन माग गरेका छन्।

राष्ट्रिय क्रिकेटरहरु शरद भेसावकर, आरिफ शेख, आसिफ शेख, विवेक यादव, सिद्धान्त लोहनी, सन्जम रेग्मी, नरेश बुढायर लगायतले सामाजिक सन्जालमार्फत सन्दिपको न्याय मागेका छन्।

हाल नेपाल टि-ट्वान्टी लिगमा पोखरा एभेन्जर्स टिममा सहभागी श्रीलंका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान उपुल थारांगा समेत बुधबार सन्दिपलाई भेट्न थुनामा पुगेका थिए।

फेसबुकमा क्रिकेटर आरिफ शेखले सन्दिपले चांडै न्याय पाउनु पर्ने माग गर्दै मरेको मान्छेले न्यायको लागि रुन नसक्ने लेखेका छन् – ”

उनी लेख्छन्, ‘न्यायले हरेक मानिसलाई एकनासले हेर्छ । यो सदा सर्वदा उस्तै हुन्छ । मरेको मान्छे न्यायका लागि रुन सक्दैन । बाँचेको मान्छेको जिम्मा हुन्छ उनीहरूको न्यायका लागि लड्ने । सन्दीपले चाँडै न्याय पाओस् र एक देशभक्त व्यक्तिले फेरि राष्ट्रलाई गौरवान्वित गर्न सकोस् भन्ने मेरो कामना छ ।”

अर्का क्रिकेटर सिद्धान्त लोहनीले केसको छिटो सुनुवाइ गरेर सन्दीपलाई न्याय दिनु पर्ने लेखेका छन् – “यति दिन बितिसक्दा पनि सन्दिपको केसमा सरकार मौन छ ! सिङ्गो रास्ट्र सन्दिप को प्रतीक्षामा छ् !जब सन्दिपले देशको लागि योगदान दियेको छ भने सरकारले पनि सन्दिपको केस लाई छिटो भन्दा छिटो सुनवाइ गरेर न्याय दिइयोस!सन्दिपले देशलाई दियेको योगदानको कदर गरियोस सरकार !”

अन्य क्रिकेटरहरु तथा समर्थकहरुले ह्यासट्याग जस्टिस फर सन्दिप लामिछाने #JusticeForSandeepLamichhane  अभियाननै चलाएर सन्दिपले न्याय पाउनु पर्ने माग गरेका छन्।

नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौँले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।

जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।

गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy