सन्दिप मलेसियाबाट आजै युएई जाँदै

२०७५ आश्विन २६, शुक्रबार २२:१२

Sandeep Lamichhane
  • विकेटनेपाल, असोज २६ 

नेपाललाई आईसीसी टि-२० बिश्वकप एसिया पूर्वी छनौटको उपाधि दिलाउन शानदार प्रदर्शन गरेका सन्दिप प्रतियोगिता सकिए लगत्तै मलेसियाबाटै युएईतर्फ प्रस्थान गरेका छन्।

मलेसियामा आज सम्पन्न प्रतियोगितामा कुल २४ विकेट लिएका सन्दिप उत्कृस्ट बलर र प्रतियोगिताकै उत्कृस्ट खेलाडी समेत चुनिएका छन्। यस्तै एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने किर्तिमान समेत उनले आफ्नो नाम गरे

नेपाली गुग्लि ब्वाई अफगानिस्तान प्रिमियर लिगको टिम नगरहर लिओपार्डसको लागि खेल्न प्रस्थान गरेका हुन्। सन्दिप लिग खेल्न शुक्रबार राति २ बजे युएई प्रस्थान गर्ने उनका नेपाल ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका छन्।

अफगानिस्तान प्रिमियर लिगमा सन्दिपको टिम नगरहर लिओपार्डसको प्रदर्शन खराब रहँदै आएको छ। बेन कटिंग कप्तान रहेको टिमले हालसम्म खेलेको ४ खेलमा १ खेलमा जित र ३ खेलमा हार बेहोरेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ।

शुक्रबार राति नगरहर लिओपार्डसले पाँचौ खेल खेल्दैछ जसमा सन्दिप खेल्न पाउने छैनन् तर शनिबार राति हुने काबुल ज्वनानसंगको खेल भने उनि खेल्नेछन्। रासिद खान कप्तानीको काबुल अंकतालिकामा ४ खेलमा ३ जित र १ हार सहित शिर्ष स्थानमा रहेको छ।

सन्दिपलाई नगरहर लिओपार्डसले गत महिना सम्पन्न अक्सनमा १५ हजार डलरमा टिममा आबद्ध गरेको थियो। लगभग आधा खेलहरु खेल्न नपाएपछि सम्झौता अनुसार पुरै पैसा भने उनले पाउनेछैनन्। यस अघि पनि सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सको लागि क्यारेबियन प्रिमियर लिग खेल्दै गर्दा सन्दिप बीचमै एसिया कप छनौट खेल्न मलेसिया पुगेका थिए।

लिगको पुरै खेल नखेल्दा पाउने रकमबाट नखेलेको खेलको रकम ( सम्झौता अनुसार ) काटिने गर्छ। महँगो मूल्यमा लिग खेल्न आबद्ध भए पनि देश पहिलो रोजाइमा पर्दा सन्दिपले व्यक्तिगत रुपमा भने महँगो रकम गुमाउने गरेका छन्। छनौट प्रतियोगिता खेल्न मलेसिया जानु अघि विकेटनेपालसंग कुराकानीमा सन्दिपले ब्यबसायिक लिग भन्दा देशलाईनै पहिलो रोजाईमा राख्ने बताएका थिए।

अफगानिस्तान प्रिमियर लिगमा अब शनिबारको खेल सहित मात्र ३ वटा खेल नगरहरले खेल्नेछ जसमा सन्दिपको प्रदर्शन पक्कै पनि उनको टिमको लागि महत्वपूर्ण हुनेछ। ५ टिम मध्ये ४ वटा टिम सेमीफाइनल पुग्ने हुँदा आगामी खेलमा जित हात पार्दै नगरहर कम्ब्याक गर्न चाहन्छ ।

लिगमा नगरहर लिओपार्डस सहित ५ टिम रहेका छन्। अन्य टिमहरुमा रासिद खान कप्तान रहेको  काबुल ज्वनान, मोहम्मद शहजाद कप्तान रहेको पक्तिया प्यान्थरस, अस्घर अफगान कप्तान रहेको कन्दहर नाइट्स र मोहम्मद नबि कप्तान रहेको बल्ख लेजेन्ड्स रहेका छन्।

अक्टोबर ५ देखि सुरु भएको लिगको फाइनल २१ अक्टोबरमा खेलिनेछ।

नेपाली लेग स्पिनर यस अघि इन्डियन प्रिमियर लिग ( आईपीएल ), ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० खेलीसकेका छन्। इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए।

आईपीएलमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। सबै लिगमा सन्दिपको इकोनोमी राम्रो रहेको छ भने टिमको महत्वपूर्ण खेलाडीको रुपमा आफुलाई प्रमाणित गरेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy