- विकेटनेपाल,असोज २७
अफगानिस्तान प्रीमियर लीग ( एपिएल ) टि-२० अन्तर्गत सन्दिप लामिछानेले आज राति पहिलो खेल खेल्नेछन्।
मलेसियामा सम्पन्न आईसीसी टि-२० बिश्वकप एसिया पूर्वी छनौट प्रतियोगितामा सहभागिता जनाएर सन्दिप मलेसियाबाटै शुक्रबार राति २ बजे लिग खेल्न युएई प्रस्थान गरेका हुन्।
सन्दिप अफगानिस्तान प्रीमियर लीगमा नगरहर लिओपार्डसको लागि खेल्दैछन्। नगरहरले अहिले राति ९:४५ बजे सुरु हुने खेलमा कन्दहर नाइट्ससंग खेल्ने तालिका रहेको छ।
खेलको प्रत्यक्ष प्रशारण भारत लगायत दक्षिण एसियाली देशहरु मा डी-स्पोर्ट च्यानलले गर्नेछ। यस्तै युट्युबमा cricingif ले पनि खेलको प्रत्यक्ष प्रशारण गर्नेछ।
कन्दहर नाइट्सको कप्तानी अफगानिस्तान क्रिकेट टिमको समेत कप्तान रहेका अस्घर अफगानले गर्दैछन् भने टिममा ब्रेण्डन म्याक्कलम, केभिन ओ ब्रायन, पल स्टरलिङ्ग जस्ता खेलाडीहरु रहेका छन्।
शुक्रबार राति सम्पन्न लिगको पाँचौ खेलमा सन्दिपको टिम नगरहरले रासिद खान कप्तानीको टिम काबुल ज्वनानलाई पराजित गरेको थियो। लिगको ३ खेल बाँकी रहंदा नगरहर अंकतालिकाको चौथो स्थानमा २ जित र ३ हारको साथमा रहेको छ।
नगरहर टिम बेन कटिंगको कप्तानीमा खेलीरहेको छ जसमा मुजिब उर् रहमान, मिचेल म्याकलेनघन, आन्द्रे रसेल, आन्द्रे फ्लेचर जस्ता खेलाडीहरु रहेका छन्।
सन्दिपलाई नगरहर लिओपार्डसले गत महिना सम्पन्न अक्सनमा १५ हजार डलरमा टिममा आबद्ध गरेको थियो। लगभग आधा खेलहरु खेल्न नपाएपछि सम्झौता अनुसार पुरै पैसा भने उनले पाउनेछैनन्। यस अघि पनि सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सको लागि क्यारेबियन प्रिमियर लिग खेल्दै गर्दा सन्दिप बीचमै एसिया कप छनौट खेल्न मलेसिया पुगेका थिए।
लिगको पुरै खेल नखेल्दा पाउने रकमबाट नखेलेको खेलको रकम ( सम्झौता अनुसार ) काटिने गर्छ। महँगो मूल्यमा लिग खेल्न आबद्ध भए पनि देश पहिलो रोजाइमा पर्दा सन्दिपले व्यक्तिगत रुपमा भने महँगो रकम गुमाउने गरेका छन्। छनौट प्रतियोगिता खेल्न मलेसिया जानु अघि विकेटनेपालसंग कुराकानीमा सन्दिपले ब्यबसायिक लिग भन्दा देशलाईनै पहिलो रोजाईमा राख्ने बताएका थिए।
अफगानिस्तान प्रिमियर लिगमा अब आजको खेल सहित मात्र ३ वटा खेल नगरहरले खेल्नेछ जसमा सन्दिपको प्रदर्शन पक्कै पनि उनको टिमको लागि महत्वपूर्ण हुनेछ। ५ टिम मध्ये ४ वटा टिम सेमीफाइनल पुग्ने हुँदा आगामी खेलमा जित हात पार्दै नगरहर कम्ब्याक गर्न चाहन्छ ।
लिगमा नगरहर लिओपार्डस सहित ५ टिम रहेका छन्। अन्य टिमहरुमा रासिद खान कप्तान रहेको काबुल ज्वनान, मोहम्मद शहजाद कप्तान रहेको पक्तिया प्यान्थरस, अस्घर अफगान कप्तान रहेको कन्दहर नाइट्स र मोहम्मद नबि कप्तान रहेको बल्ख लेजेन्ड्स रहेका छन्।
अक्टोबर ५ देखि सुरु भएको लिगको फाइनल २१ अक्टोबरमा खेलिनेछ।