सन्दिप र पारस बने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानकोे सद्भावना दुत

२०७६ बैशाख २६, बिहीबार २०:३४

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि खेलकुद समिति गठन गरिएको छ ।

तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको हो भने ४ सदस्य सल्लाहकार समिति र सम्पुर्ण खलकुद संग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहने गरी समिति गठन भएको छ ।

सल्लाहकारहरुमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाली फुटवलका पूर्व कप्तान राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्व सि.ई.ओ. भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक समेत रहेका जगत टमाटा समितिमा रहेका छन् । त्यसका साथै यो अभियानको सद्भावना दुतका रुपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दिप लामिछाने रहेका छन् ।

देशैभरी रङ्गशाला निर्माणको अभियान चलिरहेका बेला खेलाडीहरुको समेत उपस्थिती रहने गरी उक्त समिति गठन गरिएको बताईएको छ । समितिमा देशका चर्चित तथा अनुभवी खेलाडीहरु र संघसंस्था समावेश गरिएको संयोजक बिष्टले जानकारी दिएका छन् ।

खेलकुद समितिमा हरि खड्का (फुटवल), संगिना बैध (तेक्वान्दो), भरत शाह (भलिवल), बिनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दिपक श्रेष्ठ (कराँते), रुबिना क्षेत्री (क्रिकेट), सरस्वती चौधरी (भलिवल), दिपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (वडि विल्डिङ), शावित्री भण्डारी ‘साम्बा’ (फुटवल), अनिल गुरुङ (फुटवल) र छुम्बी लामा लगायतको समिति रहेको संयोजक बिष्टले बताएका छन् ।

समितिले रंगशाला निर्माणका लागि देश बिदेशमा बिभिन्न आर्थिक संकलनका अभियानहरु संचालन गर्ने र सबै खेलाडीहरुलाई अपनत्व ग्रहण हुने गरी सहयोग गर्ने छ ।

‘धुर्मुस सुन्तली आफ्नो कार्यक्षेत्र छोडेर हाम्रा लागी स्टेडियम र खेलकुद हव बनाउँन लाग्नुभएको छ, हामीले पनि हाम्रो तर्फबाट केही गर्न सकिन्छ र गरौं भन्ने हेतुले समिति गठन गरेका हौं’ संयोजक बिष्टले भने-

‘यो समिति सक्रिय रुपमा बिभिन्न अभियान चलाउँदै अघि बढ्नेछ, बिभिन्न ठाउँबाट सबैले सहयोग र साथ दिनुहुनेछ भन्ने कुरामा आशावादी छौं ।’

Gautam Buddha International Stadium

रङ्गशाला निर्माण अभियानका लागि फाउण्डेशनले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई सद्भावना दुतका रुपमा समेत नियुक्त गरेको छ । यो अभियानले रङ्गशाला निर्माणको लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाटै आर्थिक संकलन गर्नुपर्ने र एउटा राम्रो सन्देश विश्वभर पुर्याउने कप्तान पारस खड्काले बताए –

‘हाम्रै लागी चलिरहेको यो अभियानमा जोडिन पाउँदा निकै खुसी छु’ उनले भने ‘मैले सुरुवातदेखी नै फाउण्डेशनलाई सहयोग गरिरहेको छु, अझै यो जिम्मेवारीले थप सहयोग गर्न र नेपाललाई विश्वमा चिनाउन मैले र हाम्रो पुरा टिमले सक्ने सहयोग गर्नेछौं ।’

यो अभियानका लागि निर्माण समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्राबिधिक समिति लगायत अन्य समितिहरु पनि गठन भईसकेको अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् – ‘खेलकुद समिति गठनले थप उर्जा मिलेको र सम्पुर्ण खेलाडीले अपनत्व ग्रहण गरी अभियानमा सक्रिय भएर लाग्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं’ अध्यक्ष कट्टेलले भने ‘यो समितिमा भोलिका दिनमा अझै अरु अनुभवी तथा विज्ञ खेलाडी तथा संघसंस्थाहरुपनी जोडिदै जानुहुनेछ भन्ने कुरामा आशावादी छौं ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy