“सन्दिपको क्षमताको खेलाडी एसोसिएट राष्ट्रमै छैन” – प्रशिक्षक पुबुदु

नेपाली राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायकेले क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेनै हुने बताउदै नेपाली राष्ट्रिय टिमलाई विश्वकप पुर्याउने लक्ष सहित मेहनत गर्ने बताएका छन्। मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि क्यानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुबुदुले बिभिन्न विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पुबुदुले नव नियुक्त कप्तान सन्दिप लामिछाने बारे बोल्दै उनको क्षमताको क्रिकेटर एसोसिएट राष्ट्रमा नभएको र कप्तानको रुपमा पनि सफल हुने बताए-

“क्यान बोर्ड बैठकले गरेको निर्णय परिवर्तन गर्न म सक्दिन । संसार भर बोर्डको निर्णयनै मान्य हुन्छ । कप्तान हुनु र टोलीमा खेल्नु फरक विषय हो । सन्दीप एसोसिएट देशबाट विश्वभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनको क्षमतालाई विश्वले नियालिरहेको छ। सन्दिपको क्षमताको खेलाडी एसोसिएट राष्ट्रमा छैन। आईपीएल र बिग ब्यास जस्तो माथिल्लो स्तरमा खेलेपछि र त्यो स्तरको खेलाडीसंग खेल्नु निकै ठूलो कुरा हो, त्यति अनुभव अरु एसोसिएट खेलाडीसंग छैन। उनि अझै युवा छन् र कप्तानको रुपमा टेस्ट हुन बाँकी छ। म ढुक्क छु उनि कप्तानको रुपमा सफल हुनेछन्।”

क्यानको बोर्ड बैठकले हालै मात्र टोलीका नियमित कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरी सन्दीपलाई कप्तानमा नियुक्त गरको थियो । क्यानले मल्ल र ऐरी सहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को सुरुको ६ महिना केन्द्रीय सम्झौतामा सहभागी नगराउने निर्णय समेत गरेको थियो ।

पुबुदुले नेपाली टिममा ज्ञानेन्द्र र सन्दिपको दुई समुहमा विभाजित रहेको प्रश्नको जवाफमा बताए”म यो प्रश्नको सिधा जवाफ दिन चाहन्छु। अगाडी मात्र एउटा टिम हुनेछ र त्यो नेपाल राष्ट्रिय टिम हो। जसले नेपालको लागि खेल्न चाहन्छ र नेपालको लोगो छातिमा राख्न चाहन्छ त्यो राष्ट्रिय टिममा हुनेछ। हामि टिममा उत्कृस्ट खेलाडी चाहन्छौ। जो देशको लागि खेल्न भोको छ त्यो टिममा हुनेछ।”

पत्रकार सम्मेलनका पुबुदुले आफुले क्यान पदाधिकारी र चारजना खेलाडीसँग गम्भीर छलफल गरेको पनि बताए “क्यानले खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको विषय समाधान गर्न तत्पर रहेपनि कप्तानको विषयमा गरेको निर्णय परिवर्तन गर्न चाहेको छैन” पुबुदुले बताए । चारजना खेलाडीले भने आफुमाथि गरिएको कारबाहीमा पूर्नविचार गर्न माग गर्दै आएका छन् । पुबुदुले नेपाली क्रिकेटलाई फेरि विश्वकपमा लैजान आफुले सक्दो मिहेनत गर्नेपनि बताए।

“दोस्रो पटक नेपाल आउन पाउँदा खुशी छु । पछिल्लो चार बर्षमा नेपाली क्रिकेट फरक भएको छ । सन् २०११ मा म पहिलो पटक नेपाल आउँदा नेपाल डिभिजन चारमा थियो । त्यतिवेला छुट्टै चुनौती थियो । अहिले नेपाल टी–२० र ओडीआई कन्ट्री भएको छ । खेलाडीको धेरै विकास भएको छ । धेरै खेलाडीले बाहिर गएर सकेका छन् । नयाँ खेलाडी आउनुभएको छ । अहिलेको चुनौती पहिलाको भन्दा फरक छ” पुबुदुले बताए।

उनले एक दुई दिनमै टी–२० विश्वकप ग्लोबल क्वालीफायरको प्रशिक्षण क्याम्प सुरु गर्ने पनि बताए “नेपाललाई फेरि विश्वकपमा पुर्याउनु मेरो लक्ष्य हुनेछ । पहिलाको भन्दा दुई सय प्रतिशत मिहेनत गर्नेछौँ । नेपाली खेलाडीमा धेरै प्रतिभा छ । क्यानसँग मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाई दिन तयार छु” पुबुदुले बताए । नेपालले यसअघि पुबुदुकै प्रशिक्षणमा सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले तत्काल केन्दीय सम्झौतामा हरेका १८ जना खेलाडी र विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समेत ३० जना समावेश गरी तयारी सुरु गर्ने बतए । उनले विश्वकप छनोट टी–२० फर्म्याटको भएकोले क्यानले प्रधानमन्त्री कप पनि टी–२० फरम्याटको खेलाउन राष्ट्रिय खेलकुद परिषद आग्रह गरिएको जसमा परिषद सकारात्मक रहेको जानकारी पनि गराए । उनका अनुसार प्रधानमन्त्री कप पुस २५ गतेदेखि सञ्चालन गर्ने तयारी भएको छ।

अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने तयारीमा रहेको नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । आईसीसीले हालै सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ को छनोट खेल सन् २०२२ को फेब्रुअरी १५ देखि २५ तारिखसम्म ओमानमा हुनेछ । समूहमा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा रहेका छन् ।

यसैगरी समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूह ‘बी’ को छनोट खेल जुलाई ८ देखि १८ तारिसम्म जिम्बावेमा हुनेछ । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy