इन्डियन प्रिमियर लिग ( आईपीएल ) को टिम दिल्ली क्यापिटल्सले आईपीएल २०२१ को अक्सन सुरु हुन १ महिना भन्दा कम समय बाँकी रहंदा बुधबार रिटेन ( टिममा राख्ने ) र रिलिज ( फुकुवा गर्ने ) गरेका खेलाडीको नाम सार्वजनिक गरेको छ।
आईपीएल २०२० को उपविजेता दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछाने र इंगलिस ब्याट्सम्यान जेसन रोयलाई टिमबाट रिलिज गर्ने निर्णय गरेको छ।
दिल्लीले २०२० आईपीएलमा टिमलाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका निभाएका अस्ट्रेलियन अलराउण्डर मार्कस स्टोइनिसलाई ४.८ करोड भारतीय रुपैयाँ मूल्यमा टिममा रिटेन गर्ने निर्णय गरेको छ। दिल्लीले जेसन रोय सहित अस्ट्रेलियाका एलेक्स केरी, भारतका मोहित शर्मा र अस्ट्रेलियाका ड्यानियल स्याम्सलाई पनि रिलिज गर्ने भएको छ। स्याम्सलाई दिल्लीले पेसर ड्यानियल स्याम्सलाई बैंगलोरसंग ट्रेड गरेको छ।
२०१८, २०१९ र २०२० गरि तिन वटा सिजन सन्दिप दिल्लीसंग आबद्ध रहेका थिए। २०१८ मा सन्दिपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत ३ वर्षे अवधिको लागि टिममा आवद्ध गरेको थियो।
रिलिज भएपछि अब नेपाली लेग स्पिनरलाई आईपीएल २०२१ को अक्सनमा बिभिन्न टिमहरुले बोलि लगाउनेछन्। यो पटक सन्दिपले पहिले भन्दा बढी मूल्य पाउने अपेक्षा गरिएको छ। स्पिन पक्ष कमजोर रहेको टिमले सन्दिपलाई बोलि लगाउन सक्नेछन्।

सन्दिपले आईपीएलको २०२१ पुरा सिजन बेन्चमै बिताउनु परेको थियो। टिममा रभीचन्द्रन आश्विन, अक्षर पटेल, अमित मिश्रा जस्ता स्पिनर हुनु तथा विदेशी खेलाडीहरु कागीसो रबा’डा, मार्कस स्टोइनिस, शिमरन हेटमायर, एनरिक् नोर्कियाले लगातार मौका पाउनुले सन्दिपलाई अन्तिम-११ मा पर्न रोकेको थियो।
आईपीएल २०१८ र २०१९ मा सन्दिपले कुल ९ खेल खेल्ने क्रममा १३ विकेट आफ्नो नाम गरिसकेका छन् जुन क्रममा ८.३४ प्रतिओभर रन खर्चेका छन् भने २२.४६ को औशत र १६.१५ को स्ट्राइक रेटले विकेट लिएका छन्।
अन्य विदेशी लिगहरुमा करोड वरिपरी मूल्य पाउदै आएका सन्दिपलाई दिल्लीले रिलिज गर्ने भएपछि अब कुन टिमले आवद्ध गर्नेछ हेर्न रोचक हुनेछ।
सन्दिप हाल अस्ट्रेलियामा रहेका छन् र बिग ब्यास लिगमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका छन्। उनले यो सिजन ५ खेल खेल्ने क्रममा ४ विकेट नाममा गरेका छन्।
कुन टिमले कसलाई रिलिज र रिटेन गर्यो
चेन्नाई सुपर किंग्स : चेन्नाईले हरभजन सिंह, केदार जाधब, पियुष चावला, मुरली विजय, शेन वाटसनलाई रिलिज गरेको छ। गत सिजन नखेलेका सुरेश रैनालाई भने टिमले रिटेन गर्ने भएको छ। यस्तै ड्वेन ब्राभो र फाफ डु प्लेसिस पनि चेन्नाईमा रिटेन गरिएका छन्।
राजस्थान रोयल्स : राजस्थानले टिम कप्तान स्टिभ स्मिथलाई रिलिज गरेको छ।
मुम्बई इन्डीएन्स : डिफेन्डिङ च्याम्पियन मुम्बईले लासिथ मालिंगालाई रिलिज गरेको छ जसले २०२० आईपीएल पारिवारिक कारणले खेलेका थिएनन्। यस्तै शर्फेन रुथरफोर्डलाई पनि रिलिज गरिएको छ।
रोयल च्यालेन्जर्स बैंगलोर : बैंगलोरले कप्तान कोहली सहित एबि डी भिल्लीयर्स, युजभेन्द्र चहल, मोहम्मद सिराज, वासिंगटन सुन्दर, नभदिप सैनी, एडम जम्पा, सरफराज एहमद जोशे फिलिपे, केन रिचर्डसन, पवन देशपाण्डेलाई रिटेन गरेको छ। आरोन फिंच, क्रिस मोरिस, मोइन अलि, शिभम दुबे, उमेश यादवलाई रिलिज गरिएको छ।
किंग्स-११ पन्जाब : पन्जाबले अस्ट्रेलियन स्टार अलराउण्डर ग्लेन म्याक्सवेललाई रिलिज गरेको छ।
( अन्य अपडेट आउन बाँकी )
आईपीएल २०२१ को आयोजना अप्रिल/मे मा आयोजना हुनेछ जसको मिति सार्वजनिक गरिएको छैन।