सन्दिप मंगलबार नेपाल फर्किने

  • विकेटनेपाल – २७ फाल्गुन, सोमबार 

पाकिस्तान सुपर लिग ( पीएसएल ) खेल्न पाकिस्तान पुगेका सन्दिप लामिछाने मंगलवार नेपाल फर्कने भएका छन्। स्टार नेपाली लेग स्पिनर सम्मिलित टोली लाहोर कलन्दर्स प्रतियोगितको दोस्रो चरण पुग्न असफल भएसंगै सन्दिप नेपाल फर्किने भएका हुन्।

सन्दिप लामिछानेका नेपाल व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दिप मंगलवार दिउँसो ३:३५ बजे कतार एयरवेजको बिमानबाट नेपाल फर्कने छन्। प्रतियोगिताको युएई लेग सकेर अन्तिम दुई खेलका लागि लाहोरको टोलीसंगै सन्दिप समेत पाकिस्तान पुगेका थिए। सन्दिपका नेपाल व्यवस्थापक शिवाकोटी समेत पाकिस्तानमा सन्दिपसंगै रहेका छन्।

लाहोर कलन्दर्सको प्रतिनिधित्व गरेका सन्दिपले प्रतियोगितामा ७ खेल खेल्दै ११ विकेट आफ्नो नाम गरे। बिग ब्यास लिगको फाइनलका कारण पीएसएलको सुरुवाती खेल गुमाएका सन्दिपले पछिल्ला ७ खेलमा भने २४.४ ओभर बलिङ्ग गर्दै ७.६६ को उत्कृस्ट इकोनोमीमा ११ विकेट चट्काउन सफल भए। प्रतियोगिताको यस सिजन सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा सन्दिप पाँचौ स्थानमा रहेका छन्।

यसैबीच पाकिस्तान सुपर लिग सकेर नेपाल फर्कन लागेका सन्दिप लगत्तै इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा सहभागी हुन भारत जाने तालिका रहेको छ। सन्दिप कहिले भारत जाने भनेर अन्तिम मिति सार्वजनिक नगरीएपनि प्रतियोगिता सुरुहुन छोटो समय बाँकी रहेकाले सन्दिप केहि दिनमै भारत प्रस्थान गर्ने अपेक्षा गरिएकॊ छ।

आईपीएल क्रिकेटमा सन्दिपले आफ्नो टोली दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गर्ने छन्। पछिल्लो सिजन प्रतियोगिताको अन्तिम ३ खेल मात्र खेल्ने मौका पाएका सन्दिपले कुल ५ विकेट आफ्नो नाम गरेका थिए। यस सिजनभने पछिल्लो समय टि-२० लिगमा गरेको प्रदर्शनका आधारमा सन्दिपले सुरुवातबाट नै मौका पाउने आंकलन गरिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy