करनलाई उछिन्दै सन्दिप बने नेपालको सर्वाधिक विकेटकर्ता

२०७८ बैशाख ८, बुधबार १३:०८

नेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिजमा नेदरल्याण्डसंगको खेलमा ४ विकेट लिंदै नेपाली लेग स्पिनर सन्दिप लामिछाने टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

नेपालको लागि २३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा सन्दिपले कुल ४२ विकेट आफ्नो नाम गरेका छन्। यस क्रममा उनले २३ खेलमा ८६.५ ओभर बलिंग गर्दै ५७८ रन खर्चेका छन्। सन्दिपको औशत १३.७६ रहेको छ भने १२.४ को स्ट्राइक रेट तथा ६.६५ रन प्रतिओभर रन खर्चेका छन्।

जारि त्रि-देशीय सिरिजमा सन्दिपले ३ खेलमा ८ विकेट लिईसकेका छन्। सन्दिप सिरिजको सर्वाधिक विकेटकर्ता समेत हुन्। सन्दिप पछि करन केसीले ३ खेलमा ४ विकेट लिएका छन् र दोश्रो सर्वाधिक विकेटकर्ता हुन्। सन्दिपले नेदरल्याण्ड र मलेसियासंगको खेलमा समान २ विकेट लिएका थिए।

सर्वाधिक विकेटकर्ता हुने क्रममा सन्दिपले फास्ट बलर करन केसीलाई उछिनेका हुन्। करनले सन्दिप भन्दा १ विकेट कम ४१ विकेट लिएका छन्। तर करनले सन्दिप भन्दा ८ खेल बढी अर्थात् ३१ खेल खेलेर उक्त विकेट लिएका हुन्। करनले ३१ खेलमा १०४ ओभर बलिंग गर्दै ७८२ रन खर्चेर उक्त विकेट लिएका हुन्। करनको औशत १९.०७, स्ट्राइक रेट १५.०२ रहेको छ भने ७.५१ रन प्रतिओभर खर्चेका छन्।

Karan KC , Sandeep Lamichhane

सन्दिप र करन पछि तेश्रो धेरै विकेट लिने खेलाडी सोमपाल कमि हुन् जसले ३१ खेलमा २८ विकेट लिएका छन्। चौथो धेरै विकेट लिने बलर बसन्त रेग्मी हुन् जसले १८ खेलमा २५ विकेट लिएका छन्। पाँचौ धेरै विकेट लिने बलर अविनाश बोहराले २३ खेलमा २१ विकेट लिएका छन्। छैठौ धेरै ललित राजबंशीले १२ खेलमा १० विकेट लिएका छन्। सन्दिप, करन, सोमपाल, बसन्त, अविनाश र ललित बाहेक अन्य नेपाली बलरले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० भन्दा कम विकेट लिएका छन्।

सन् २०१८ मा नेदरल्याण्डसंग टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका सन्दिपले दुई पटक एकै खेलमा ४ विकेट लिएका छन्। दुवै पटक नेदरल्याण्डसंग सन्दिपले एकै खेलमा ४ विकेट लिएका हुन्। यस्तै सन्दिपले ४ पटक एकै खेलमा ३ विकेट लिएका भने भने ९ पटक एकै खेलमा २ विकेट लिएका छन्।

सन्दिपले नेपालको लागि खेलेको २३ वटा टि-२० अन्तर्राष्ट्रियमा मात्र ४ पटक विकेटविहिन हुनु परेको छ।

सन्दिपको महँगो स्पेल 

नेदरल्याण्डसंग ४ विकेट लिंदै सर्वाधिक विकेटकर्ता बनेता पनि सन्दिपले खराब किर्तिमान पनि बनाएका छन्। ४ विकेट लिने क्रममा उनले खर्चेको ४८ रन टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिपको महँगो स्पेल हो। यस्तै नेपालको टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सन्दिपको ४-०-४८-४ को स्पेल दोश्रो महँगो स्पेल हो। सबैभन्दा महँगो स्पेल गर्ने खेलाडी बसन्त रेग्मी हुन् जसले २०१९ मा सिंगापुर बिरुद्ध ४ ओभरमा ५४ रन खर्चेका थिए।

सन्दिपको यस अघि सबैभन्दा महँगो स्पेल नेदरल्याण्ड बिरुद्ध २०१८ मा थियो जति बेला लर्ड्स मैदानमा विकेटविहिन रहेका सन्दिपले ४ ओभरमा ४३ रन खर्चेका थिए।

यस्तै नेदरल्याण्ड बिरुद्ध ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका शाहब आलमको स्पेल तेश्रो महँगो स्पेल हो। हालसम्म नेपाली बलरले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ पटक मात्र आफ्नो स्पेलमा ४० वा सो भन्दा बढी रन खर्चेका छन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/slow-over-rate-jariwana-wn21-rohi/

https://wicketnepal.com/rukh-chadhera-khel-here-wn21/

https://wicketnepal.com/ipl-14-m13th-rep-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy