टि-१० लिग खेल्न सन्दिप आइतबार युएई जाने

  • विकेटनेपाल, कतिक-३० , शुक्रवार 

इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग , ग्लोबल टि-२० लिग क्यानडा र अफगानिस्थान प्रिमियर लिग पछि सन्दिप लामिछाने युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि-१० लिग खेल्दैछन्।

यही नोभेम्बर २१ तारिक देखि सुरु हुने टि-१० लिगमा सन्दिप केरला किंग्सबाट खेल्नेछन्। किंग्सले २१ तारिकमा शहिद अफ्रिदी आइकन खेलाडी रहेको पख्तुनको सामना गर्नेछ।

गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

प्रतियोगितामा सहभागी हुन सन्दिप नोभेम्बर १८ तारिकमा युएई प्रस्थान गर्ने सन्दिपका नेपाल ब्यबस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्। शिवाकोटीले युएई प्रस्थान गर्नु अघि सन्दिपसंग कुराकानीको लागि पत्रकार सम्मेलन आयोजना गर्ने समेत बताए।

सन्दिपको टिम  केरला किंग्समा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन आइकन खेलाडी र कप्तान रहेका छन्। यस्तै टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्।

केरला किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन्।


टि-१० लिगको पहिलो संस्करण गत बर्ष आयोजना भएको थियो जसको उपाधि केरला किंग्सले जित्ने क्रममा पन्जाबी लेजेड्सलाई पराजित गरेको थियो। त्यस संस्करणमा पनि मोर्गनले टिमको कप्तानी गरेका थिए र फाइनलमा २१ बलमा ६३ रन बनाएका थिए।

लिगमा कुल ८ टिम सहभागी रहेका छन् जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्। केरला किंग्सको आइकन मोर्गन, मराठाको राशिद खान, पख्तुन्सको शहिद अफ्रिदी, पन्जाबीको शोयब मलिक, कराचियन्सको शेन वाटसन, बेङ्गालको सुनिल नारायण, नर्थर्न वारियर्सको ड्यारेन स्यामी तथा राजपुत्सको ब्रेन्डन म्याकलम रहेका छन्।

लिगको खेलमा १० ओभर प्रति इनिंगको हुनेछ र ९० मिनेटमा खेलनै सकिन्छ। प्रतियोगिताको खेलहरु शारजाह क्रिकेट स्टेडियममा खेलिनेछ।

टि-१० लिगमा सहभागी भएपछि सन्दिप डिसेम्बर ८ देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-२० खेल्न आउने छन्। इपिएलमा सन्दिप ललितपुर प्याट्रीएट्स टिममा रहेका छन्।

डिसेम्बर १९ देखि फेब्रुवरी १७ सम्म चल्ने चर्चित अस्ट्रेलियन लिग बिग ब्यास पनि सुरु हुने हुँदा इपिएलमा सन्दिपले पहिलो २ वटा खेल मात्रै खेल्ने उनका व्यवस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका छन्। बिग ब्यास लिगकै बीचमा सन्दिप ५ जनवरी ९ फेब्रुवरीसम्म चल्ने बंगलादेश प्रिमियर लिग खेल्न समेत खेल्नेछन्।

सन्दिप बिग ब्यास लिगमा मेलबर्न मेलबर्न स्टारको लागि तथा बंगलादेश प्रिमियर लिगमा स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने आगामी संस्करणमा पनि दिल्लीले सन्दिपको सम्झौता नवीकरण गरे पनि कति मूल्यमा भने सार्वजनिक गरिएको छैन। क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६० हजार डलर पाउने बताईएको छ।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Picture – Lalit Patriots , Facebook )

आईपीएलको पछिल्लो संस्करणमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए।

( फोटो – बिसीसीआई )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy