सन्दिपको मेलबर्नको लगातार दोश्रो जित, स्टोइन्सको अलराउण्ड प्रदर्शन

  • विकेटनेपाल, पुष १७ – मंगलबार 

बिग ब्याश लिग अन्तर्गत सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले लगातार दोश्रो जित हाँसिल गरेको छ।

लिग अन्तर्गत पहिलो २ खेलमा पराजित भएको स्टार्सले मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै दोश्रो जित हाँसिल गरेको हो। यस अघि स्टार्सले सिड्नी सिक्सर्सलाई तेश्रो खेलमा ५ विकेटले पराजित गरेको थियो।

जितसंगै मेलबर्न स्टार्स ४ खेलमा २/२ जित र हातको साथ अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। हारपछि मेलबर्न रेनेगेड्स भने २/२  जित/हार भए पनि नेट रनरेटमा मेलबर्न स्टार्स, सिड्नी थन्डर्स र एड्लेड स्ट्राइकर्ससंग नेट रन रेटमा पछि पर्दै छैठौं स्थानमा रहेको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको मेलबर्न रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १४८ रनको योगफल तयार गरेको थियो। १४९ रनको लक्ष्य मेलबर्न स्टार्सले १७.५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। स्टार्सको जितमा बलिङ्गमा ड्वेन ब्राभोले ३ विकेट ( ४-०-२७-३ ) , स्कट बोलान्ड ( ४-०-३२-२ ) तथा मार्कस स्टोइन्स ( ३-०-२६-२ ) विकेट लिए। ब्याटिंगतर्फ पनि प्लेयर अफ द म्याच चुनिएका स्टोइन्सले अविजित ७८ रनको इनिंग खेल्दा ४९ बलमा ४/४ छक्का र चौका प्रहार गरे। बेन डंकले ३२ तथा कप्तान ग्लेन म्याक्स्वेलले ३३ रन बनाए।

सन्दिपको प्रदर्शन 

बंगलादेश प्रिमियर लिग खेल्न बुधबार बंगलादेश प्रस्थान गर्नु अघि बिग ब्यासको अन्तिम खेलमा सन्दिपले १ विकेट हात पारे। त्यस क्रममा सन्दिपले मेलबर्न रेनेगेड्स कप्तान टम कुपरको विकेट लिए। ४ ओभर बलिङ्ग गर्ने क्रममा नेपाली स्पिनरले ३१ रन खर्चेर १ विकेट लिए। १ विकेटसंगै ४ खेलमा सन्दिपको विकेट संख्या ८ पुगेको छ।

खेलको तेश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपलाई ओभरको चौथो र पाँचौ बलमा स्याम हार्परले चौका हिर्काए। तेश्रो बल सन्दिपले फुलटस फालेका थिए भने चौथो बललाई स्क्वायर लेगको पछाडी हार्परले स्टम्प भन्दा अघि बढ्दै स्लग स्विप गरेका थिए। पहिलो ओभरमा उनले ११ रन खर्चिए।

सन्दिपको पहिलो ओभर – १ रन ( हार्पर ) , डट बल ( हार्भे ) , १ रन ( हार्भे ) , चौका ! ( हार्पर ) , चौका ( हार्पर ) , १ रन ( हार्पर )

पहिलो ओभर गरेको ७ ओभर पछि ११ औं ओभरमा दोश्रो ओभर बलिङ्ग गरेका सन्दिपले अन्तिम बलमा कप्तान टम कुपरलाई बोल्ड आउट गर्दै पहिलो विकेट लिए। प्रतियोगिताको आठौँ विकेट लिने क्रममा सन्दिपले गरेको गुग्लिलाई कुपरले बुझ्न सकेनन् जसपछि कुपरको मिडल स्टम्प ढलेको थियो। दोश्रो ओभरमा उनले ४ रन खर्चेर १ विकेट लिए।

सन्दिपको दोश्रो ओभर – १ रन ( कुपर ) , १ रन ( क्रिस्टीएन ) , डट बल – ( कुपर ) , १ रन ( कुपर ) , १ रन  ( क्रिस्टीएन ) , विकेट ( कुपर , बोल्ड )

लगत्तै स्पेलमा आफ्नो तेश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपले ८ रन खर्चिए। त्यस क्रममा ओभरको पहिलो ३ बलमा १ रन मात्र दिएका सन्दिपलाई चौथो बलमा ड्यान क्रिस्टीएनले चौका प्रहार गरे। अगाडी बढेर क्रिस्टीएनले हानेको चौका सन्दिपको माथिबाट गएको थियो। तेश्रो ओभरमा सन्दिपले ८ रन खर्चिए।

सन्दिपको तेश्रो ओभर – १ रन ( वेबस्टर ) , १ रन ( क्रिस्टीएन ) , १ रन ( वेबस्टर ) , चौका ( क्रिस्टीएन ) , डट बल ( क्रिस्टीएन ) , १ लेग बाई ( क्रिस्टीएन )

स्पेलको अन्तिम ओभर बलिङ्ग गर्न आएका सन्दिपलाई ओभरको पाँचौ बलमा बिउ वेबस्टरले चौका प्रहार गरे। ओभरको अन्तिम बलमा सन्दिपको लेग स्पिनमा ब्याटको किनारा लागे पनि विकेटकिपर भन्दा बल थोरै पर पुग्दा सन्दिपले विकेट लिन सकेनन्। चौथो ओभरमा ९ रन खर्चेका सन्दिपले ४ ओभरमा कुल ३१ रन खर्चेर १ विकेट लिए।

सन्दिपको चौथो ओभर – डट बल ( वेबस्टर ) , १ रन ( वेबस्टर ) , वाइड , १ रन ( क्रिस्टीएन ) , चौका ( वेबस्टर ) , २ रन ( वेबस्टर )

बंगलादेश जाँदै सन्दिप 

बिग ब्यास लिगको चौथो खेल सकिएपछि सन्दिप बुधबार बंगलादेश प्रस्थान गर्नेछन्। बंगलादेशमा जनवरी ५ देखि सुरु हुने बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन सन्दिप बंगलादेश जान लागेका हुन्।

बंगलादेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सबाट खेल्दै छन् जसको कप्तानी अस्ट्रेलियान खेलाडी डेभिड वार्नरले गर्दै छन्। स्यलहेटबाट सोहेल तन्बिर, मोहम्मद इरफान, इमरान ताहिर, आन्द्रे फ्लेचर, लिटन दास, निकोलस पुरन, तस्किन एहमद, फाबियन एलेन , अल अमिन हुसेन जस्ता खेलाडीहरु खेल्दैछन्।

टिमले जनवरी ६ तारिकमा तमिम इक्बाल कप्तानीको कोमिल्ला भिक्टोरिएन्ससंग पहिलो खेल खेल्नेछ। बंगलादेश प्रिमियर लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ जसको लिग चरणको खेलहरु फेब्रुअरी २ तारिकसम्म चल्नेछ।

यसबीचमा सन्दिप नेपालले युएईसंग खेल्ने एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा समेत सहभागी हुन जानेछन्। नेपालले युएईसंग जनवरी २५ देखि फेब्रुअरी ३ तारिकसम्म दुबईमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ। सोमबार युएईसंग खेल्नको लागि घोषित २० सदस्यीय प्रारम्भिक टिममा सन्दिप पनि छन्।

नेपालको लागि युएई विरुद्धको सिरिज खेल्न सन्दिप बंगलादेश प्रिमियर लिगमा जनवरी २३ तारिकमा हुने खुल्ना टाईटन्स बिरुद्धको खेल खेलेपछि युएई प्रस्थान गर्ने सम्भावना रहेको छ। युएईसंगको सिरिज फेब्रुअरी ३ तारिकसम्म खेलेपछि यदी सन्दिपको टिम बंगलादेश प्रिमियर लिगको प्ले-अफ चरण प्रवेश गरेको खण्डमा पुनः सन्दिप बंगलादेश प्रिमियर लिगकै बाँकी खेल खेल्नेछन्। बंगलादेश प्रिमियर लिग सकेपछि मात्रै सन्दिप बिग ब्यास लिग खेल्न पुनः फर्कनेछन्।

बिग ब्यास लिग फेब्रुअरी १७ तारिकसम्म चल्नेछ भने लिग चरणको खेलहरु भने फेब्रुअरी १० तारिकमा सकिनेछ। यदी सन्दिप ढिलोमा फेब्रुअरी ८ तारिकपछि अस्ट्रेलिया फर्कने हो भने मेलबर्न स्टार्सले फेब्रुअरी १० तारिकमा सिड्नी सिक्सर्स विरुद्ध अन्तिम लिग खेल खेल्ने सम्भावना रहन्छ। मेलबर्न स्टार्स अंकतालिकामा शिर्ष ४ भित्र पर्न सके सन्दिपले सेमिफाईनल र फाईनल पनि खेल्न पाउन सक्नेछन्।

बंगलादेशमा सन्दिपको टिमले यदी प्ले-अफ चरण प्रवेश गर्न असफल भएको खण्डमा भने सन्दिपले बिग ब्यासमा ३ वटा लिगको खेलहरु खेल्न पाउनेछन्। मेलबर्नले फेब्रुअरी ३ तारिकमा पर्थ स्कोर्चर्स, फेब्रुअरी ८ तारिकमा ब्रिसबेन हिट र फेब्रुअरी १० तारिकमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ। बिग ब्यासको सेमिफाईनल खेल फेब्रुअरी १४ र १५ तारिकमा र फाईनल खेल फेब्रुअरी १७ तारिकमा खेलिनेछ।

बिग ब्यास छोडेर बंगलादेश प्रिमियर लिग किन ?

बिग ब्यास लिग खेल्दा खेल्दै बंगालदेश प्रिमियर लिग खेल्नुको पछाडीको कारण उनले बंगलादेश प्रिमियर लिग टिम स्यलहेट सिक्सर्सको लागि गरेको पुर्व सम्झौता हो। बिग ब्यास खेल्नु अघिनै उनलाई स्यलहेट सिक्सर्सले अनुबन्ध गरिसकेको थियो।

बिग ब्यास खेल्न जानु अघिनै सन्दिपले उक्त कुरा बताईसकेका थिए। सोमबार अस्ट्रेलियन मिडियाले पनि सन्दिपलाई यही जिज्ञाशा राख्दा सन्दिपले बिग ब्यासमा अनुबन्ध हुनु अघिनै बंगलादेश प्रिमियर लिगमा आबद्ध भइसकेकोले जान लागेको बताएका छन्।

सन्दिपको सट्टा लियाम प्लंकेट

सन्दिप लामिछाने बंगलादेस प्रिमियर लिग खेल्न जाने भएपछि उनको सट्टा मेलबर्न स्टार्सबाट इंग्ल्याण्ड राष्ट्रिय क्रिकेटर लियाम प्लंकेट खेल्नेछन्। ३४ बर्षिय तिब्र गतिका बलर प्लंकेट सन्दिपलाई प्रतिस्थापन गर्न अस्ट्रेलिया पुगिसकेका छन्। लिग सुरु हुनु अघिनै मेलबर्न स्टार्सले प्रतिस्थापनको रुपमा प्लंकेटको नाम घोषणा गरिसकेको थियो।

 





थप समाचार

हैदराबादमाथि बेंगलुरुको जित, बेंगलुरुविरुद्ध चलेन हैदराबादको ब्याटिङ

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ […]

बेंगलुरुद्वारा हैदराबादलाई २०७ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुबाट २ सय ७ […]

गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप : मधेश र कर्णाली विजयी

काठमाडौं । जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत बिहिवार सम्पन्न दुई खेलमा मधेश प्रदेश र कर्णाली प्रदेशले जित […]

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]