राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले सन्दीप थुनामुक्त भएको जानकारी दिए ।
उच्च अदालत पाटनले बलात्कार आरोप लागेका निलम्बित कप्तान सन्दीपलाई बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको हो । सोही आदेशअनुसार सन्दीपले आज (शुक्रबार) दिउँसो २० लाख धरौटी बुझाएसँगै थुनामुक्त भएको जानकारी सूचना अधिकारी दाहालल । थुनामुक्त गर्न केन्द्रीय कारागारबाट सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो ।
हिजो उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले सन्दीपलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भएका सन्दीपले अब काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ । साथै पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।
गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीपविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । सन्दीपका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । सन्दीपमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको थियो । सन्दीपले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । सन्दीपलाई गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।