सन्दीपलाई आठ वर्ष कैद सजाय, उच्च अदालत जाने

जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपविरुद्धको रिटमा उक्त सजाय सुनाएको काठमाडौँ जिल्ला अदालतका वैतनिक वकिल बुनु भण्डारीले जानकारी दिए । यता काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका सन्दीप उच्च अदालत जाने भएका छन् ।

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताएका छन्।

बुधबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उहाँले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको तर्कसमेत गरेका थिए ।

अधिवक्ता घिमिरेले सो सम्बन्धी जिल्ला अदालतको फैसलालाई आफूहरूले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरूले भाग लिएको स्पष्ट पारे। सन्दीप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस भन्ने आफूहरूको भनाइ रहेको उनले बताए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने फैसला गत पुस १३ गते गरेको थियो ।

( साभार – गोरखापत्र )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy