आईसीसी नयाँ ओडीआई वरियतामा सन्दिपको फड्को

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले पुनः फड्को मारेका छन्।

एक साता अघि जारि गरेको वरियतामा पहिलो पटक शिर्ष सय स्थानमा अटाएका थिए। नयाँ वरियतामा सन्दिप ९१ औं स्थानबाट १२ स्थान उक्लंदै ७९ औं स्थानमा पुगेका छन्। सन्दिप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष एकसय भित्र पर्ने पहिलो नेपाली खेलाडी हुन्।

वरियतामा सन्दिपसंगै ७९ औं स्थानमा बंगलादेशका फास्ट बलर रुबेल हुसेन रहेका छन्। नेपाली स्पिनरले भारतका हार्दिक पान्ड्यालाई समेत पछि पारेका छन् जो ८२ औं स्थानमा रहेका छन्। यस्तै सन्दिपले अस्ट्रेलियाका मिचेल मार्श(८४ ), मार्कस स्टोइनिस(८६), ओमानका जिशान मक्सुद(८६) र बिलाल खान(९०), न्युजिल्यान्डका कायल जेमीसन(९७), वेस्टइन्डिजका ओशेन थोमसलाई(९६) पछि पारेका छन्।

वरियताको शिर्ष एक सय भित्र ब्याटिंग र बलिंगतर्फ अन्य नेपाली खेलाडीले भने स्थान बनाउन सकेका छैनन्। २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली टिमका कुनै पनि खेलाडी हालसम्म वरियताको शिर्ष १०० भित्र पर्न सकेका थिएनन्।

ओमान भ्रमणमा जानु अघि वरियताको १२८ औं स्थानमा रहेका सन्दिपले पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रमशः ४ र ६ गरि १० विकेट लिएका थिए। त्यसपछि ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजको ३ खेलमा उनले ८ विकेट लिए। पहिलो खेलमा अमेरिकासंग २ विकेट लिएका उनले दोश्रो खेलमा पेटको समस्याका कारण बलिंग गर्न सकेका थिएनन्। त्यसपछि तेश्रो खेलमा अमेरिकासंग २ विकेट लिएका उनले ओमानसंग चौंथो खेलमा ४ विकेट लिएका थिए।

वर्ष २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा सन्दिप तेश्रो स्थानमा रहेका छन्। उनले यो वर्ष ६ खेल खेल्दा ५ इनिंग्समा बलिंग गर्दै १८ विकेट लिईसकेका छन्। उनि भन्दा अघि श्रीलंकाका दुश्मन्था चमिरा ( २० ) र आयरल्याण्डका सिमि सिंह ( १९ ) मात्र अघि रहेका छन्। बंगलादेशका पेसर मुस्तफिजुर रहमानले पनि सन्दिपको समान १८ विकेट लिएका छन्।

सन्दिप नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेटकर्ता हुन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलमा १५ इनिंग्समा बलिंग गर्दै ४१ विकेट तथा टि-ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा ४७ विकेट लिईसकेका छन्। टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा सन्दिप ८२ औं स्थानमा छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy