इन्डियन प्रिमियर लिग अन्तर्गत सिजनमा दोश्रो खेल खेलेका सन्दिप लामिछानेले पुनः राम्रो बलिंग गरेका छन्।
पहिलो खेलमा कोलकाता बिरुद्ध १ विकेट लिएका सन्दिपले दोश्रो खेलमा किंग्स-११ पन्जाब बिरुद्ध २ महत्वपूर्ण विकेट मात्रै लिएनन् किफायती बलिंग समेत गरेका हुन्।
टस जितेर खेलमा दिल्लीले पहिले फिल्डिंग रोजेपछि पन्जाबले ब्याटिंग गरेको थियो। खेलमा दिल्लीले अनुभवी स्पिनर अमित मिश्रालाई स्थान नदीदा सन्दिपलाई भने मौका दिएको हो।
यस्तो रह्यो सन्दिपको ४ ओभर
सन्दीपको पहिलो ओभर – १० रन खर्चेर १ विकेट ( १ रन, डट , २ रन , छक्का ! , विकेट ! , १ रन )
इनिंगको चौथो ओभरमा बलिंग गर्न आएका सन्दिपको पहिलो बलमा मायाँक अग्रवालले १ रन लिए भने दोश्रो बलमा स्याम करनले रन बनाउन सकेनन्। तेश्रो बलमा करनले २ रन लिए भने चौथो बलमा सन्दिपको गुग्लीलाई उनले छक्का प्रहार गरे।
ओभरको पाँचौ बलमा भने सन्दिपले अघिल्लो बलको छक्काको बदला लिए र स्याम करनलाई एलबिडब्लु धरापमा पारे। १० बलमा १ छक्का र ३ चौका प्रहार गरेका करनले २० रन बनाए। ओभरको पाँचौ बलमा सरफराज खानले १ रन लिएपछि सन्दिपले पहिलो ओभरमा १० रन खर्चेर १ विकेट लिए।

सन्दिपको दोश्रो ओभर – ४ रन ( डट , डट , १ रन, १ रन, १ रन , १ रन )
सातौं ओभरमा दोश्रो ओभर गर्न आएका सन्दिपलाई मायाँक अग्रवाल र सरफराज खानले खुलेर खेल्न सकेनन्। कसिलो ओभर गरेका सन्दिपले पहिलो २ बलमा मायाँक अग्रवाललाई डट बल गरे । त्यसपछिको ४ बलमा दुवै ब्याट्सम्यानले १-१ रन मात्रै लिन सके।
सन्दिपको तेश्रो ओभर – १० रन ( १ बाई , डट , १ रन , १ रन , १ रन , छक्का )
१२ औं ओभरमा तेश्रो ओभर बलिंग गरेका सन्दिपले कसिलो बलिंग गरेपनि ओभरको अन्तिम बलमा डेभिड मिलरले छक्का प्रहार गर्दा १० रन खर्चिन पुगे।
सन्दिपको चौथो ओभर – ४ रन खर्चेर १ विकेट ( डट , १ रन, १ रन, १ रन , विकेट , १ रन )
स्पेलको अन्तिम ओभर बलिंग गरेका सन्दिपले पाँचौ बलमा राम्रो ब्याटिंग गरिरहेका सरफराज खानको विकेट लिंदै महत्वपूर्ण सफलता दिलाए। सरफराज र मिलर बीचको साझेदारी खतरनाक बन्दै गएको बेला सन्दिपले लेग स्पिन बलिंगमा ३९ रन बनाएका सरफराजलाई क्याच आउट गराए।
ओभरमा सन्दिपले ४ रन मात्रै खर्चेर १ विकेट लिए। ४ रननै सिंगलबाट आएको थियो।
कुल ४ ओभर बलिंग गर्दै सन्दिपले २७ रन खर्चेर २ विकेट लिए पछि दिल्ली खेलमा फर्किएको थियो। अन्य बलरहरु महँगो सावित हुँदा सन्दिपले ६.७५ प्रति ओभर मात्रै खर्चेर दोश्रो खेलमा पनि प्रभावित बनाए।
लिग अन्तर्गत सन्दिपले खेलेको पछिल्लो खेलमा कोलकाता बिरुद्ध ४ ओभरमा २९ रन दिएर १ विकेट लिएका थिए।