ग्लोबल टि-२० लिग : सन्दिपको टिममा युभराज सिंह, सोमपालको टिममा ब्राभो

सोमपाल कामि र सन्दिप लामिछाने बिहिबार सम्पन्न ग्लोबल टि-२० क्यानडा खेल्न ड्राफ्टबाट चयन हुँदा पहिलो पटक नेपालका २ क्रिकेटर एउटै विदेशी टि-२० लिग खेल्न छनौट भएका छन्।

विश्वभरका ४२ देशबाट १०३७ खेलाडी ग्लोबल टि-२० लिग ड्राफ्टमा रहेका थिए जसमा नेपालबाट राष्ट्रिय टिमका अधिकांश खेलाडीले नाम दर्ता गराएका थिए। नेपालबाट १२ जना, क्यानडाबाट १४२ जना, अमेरिकाबाट २८ जना, हंगकंग र ओमानबाट ६/६ जना खेलाडी ड्राफ्टमा रहेका थिए भने हंगकंग, ओमान, मलेसिया, स्कटल्याण्ड, नेदरल्याण्ड, केन्या जस्ता एसोसीएट देशबाट पनि खेलाडीहरु रहेका थिए। भारतबाट ९९ र पाकिस्तानबाट १४१ खेलाडीहरु ड्राफ्टमा थिए।

यस अघि सन्दिप लामिछाने गत सिजन २०१८ को आईपीएल पछि विश्वभर क्रिकेट लिग खेलीरहे पनि अन्य क्रिकेटरको लागि भने यो ढोका खुलेको थिएन। गत महिना सम्पन्न क्यारेबियन टि-२० लिगको अक्सनमा समेत सन्दिपसंग सोमपाल, रोहित पौडेल र दिपेन्द्र ऐरी समेत ड्राफ्ट सुचीमा रहेका थिए तर सन्दिप बाहेक टिमहरुको चासोमा अरु खेलाडी परेनन्। सन्दिप ७० हजार डलरमा बिक्रि भएका थिए।

सन्दिप लामिछानेलाई टोरोन्टो नेसनल्सले ६० हजार अमेरिकी डलर अर्थात ६६ लाख ७७ हजार नेपाली रुपैयाँमा टिममा लिएको हो। सोमपाललाई विनिपेग हक्सले ३ हजार डलर अर्थात् ३ लाख ३३ हजार नेपाली रुपैयाँमा लिएको हो। दुवैलाई ड्राफ्टको एसोसीएट कोटाबाट लिईएको हो।

एउटा टिमले कुल १७ जना खेलाडीहरु लिन पाउने नियम थियो जसमा ७ जना खेलाडी टेस्ट रास्ट्रबात, ५ जना क्यानडा राष्ट्रिय खेलाडी, ५ एसोसीएट राष्ट्रबाट लिनुपर्ने थियो।

 

दुवै नेपाली खेलाडीहरु खेलाडी व्यवस्थापनकर्ता कम्पनि साया कर्पोरेसन मार्फत ड्राफ्टमा सहभागी भएका थिए। कम्पनिका तल्हा ऐशमले सोमपाल र सन्दिप खेकोतर्फबाट टिम मालिकसंग पहल समेत गरेका थिए। यस अघि पनि क्यारेबियन प्रिमियर लिगमा सोमपाललाई खेलाउन सायाले जोड गरेता पनि कुनै टिमले लिएका भने थिएनन्।

सोमपालले पाउने रकम थोरै देखिएपनि एक पटक अन्तर्राष्ट्रिय लिगमा छिर्नुले अन्य लिगमा समेत मौका पाउने सम्भावनाको ढोका खोलेको छ। सोमपालको फिटनेस स्तर समेत राम्रो भएको तथा क्रिकेटको ३ वटै क्षेत्र ब्याटिंग, बलिंग र फिल्डमा समेत राम्रो हुँदा टि-२० मा उनि झनै उपयोगी खेलाडी मानिन्छ। अर्कोतर्फ विश्वका ठुला क्रिकेटर संग टिममा रहंदाको अनुभवले उनले धेरै कुरा सिक्ने मौका समेत पाउनेछन्। सोमपालसंग ६ एकदिवसीय र १५ टि-२० अन्तर्राष्ट्रिय खेलेको अनुभव रहेको छ। एकदिवसीय अन्मातर्राष्ट्रियमा ६ खेलमा १३ विकेट तथा ३६.५ को औशतले १४६ रन बनाएका छन् भने टि-२० अन्तर्राष्ट्रियमा १५ खेलमा १७ विकेट र ११२ रन बनाएका छन्।

सन्दिपको टिममा युभराज 

सन्दिप लामिछानेको टिम टोरोन्टो नेसनल्स टिमले युभराज सिंहलाई आफ्नो मार्की खेलाडी घोषणा गरेको छ। गत हफ्ता मात्रै अन्तर्राष्ट्रिय क्रिकेट र आइपीएलबाट सन्यास लिएका सिंहले सन्यास लिनुको पछाडी यस्तै बिदेशी टि-२० लिग खेल्ने बाटो खुला गर्ने मानिएको थियो। सन्यास लगतै सिंहले बिसीसीआईसंग बिदेशी लिग खेल्न अनुमति मागेका छन्।

टोरोन्टो नेसनल्स टिममा ब्रेण्डन म्याकलम, काइरन पोलार्ड, ट्रेन्ट बोल्ट जस्ता स्टार खेलाडीहरु पनि रहेका छन्।

युभराज सिंह, ब्रेण्डन म्याकलम, काइरन पोलार्ड, ट्रेन्ट बोल्ट, हेनरिच क्लासेन, मनप्रित सिंह गोनी, क्रिस गरिन, कालुम म्याकलोएड, चिराग सुरी, घुलाम सब्बिर, जस्प्रित सिंह, रबिंदर पाल सिंह, सलमान नजिर, मार्क मन्टफोर्ट, रोडरिगो थोमस 

सोमपालको टिम

सोमपाल खेल्ने विन्नीपेग हक्समा स्टार वेस्ट इन्डिज खेलाडी ड्वेन ब्राभो रहेका छन् भने जेपी डुमिनि, उमर अकमल, क्रिस लिन, नजीबुल्लाह जद्रान जस्ता खेलाडीहरु रहेका छन्।

ड्वेन ब्राभो, जेपी डुमिनि, उमर अकमल, क्रिस लिन, नजीबुल्लाह जद्रान, रायद इमरित, पल भान मिकीरन, रामिज शाहजाद, शैमन अनवर, सन्नी सोहल, हम्जा तारिक, कालिम साना, उमर घानी, रोमेश इरांगा, भरुन सहदेभ

ग्लोबल टि-२० लिग क्यानडाको दोश्रो संस्करण जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानडामा खेलीदैछ जसमा कुल ६ टिम सहभागी रहेका छन् जसमा मोन्टरियल टाइगर्स, भानकोभर नाइट्स, ब्राम्पटन वुल्भ्स, विनिपिग हक्स, एडमोन्टन रोयल्स, टोरोन्टो नेसनल्स छन्।

गत वर्ष सन्दिप मोन्टरियल टाइगर्स टिमबाट खेलेका थिए जुन क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। त्यो सिजन सन्दिपको टिमले २ खेल मात्र जित्दा प्लेअफ चरण पुग्न असफल रहेको थियो । गत सिजन क्रिस गेल कप्तानीको भानकुभर नाइट्सले लिगको उपाधि जितेको थियो।

जुलाई २५ देखि अगस्ट ३ तारिकसम्म नेपालले टि-२० विश्वकप छनौट एसिया ( फाइनल ) खेल्ने हुँदा ग्लोबल टि-२० लिग को सुरुवाती खेलहरु सोमपाल र सन्दिपले गुमाउनेछन्। २५ जुलाईमा ग्लोबल टि-२० लिग क्यानडा सुरु भइ ११ अगस्टसम्म चल्नेछ।

अन्य ४ टिममा को-को खेलाडी 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy