सन्दीपको स्थान अन्य स्पिनरले लिनुपर्छ – रोहित

२०७९ फाल्गुन ११, बिहीबार १८:५६

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन्।

युएईमा हुन लागेको आइसिसी विश्वकप लिग– शृङ्खलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने बताएका हुन्। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितले सन्दीपको स्थान अन्य बलर तथा स्पिनरले लिनुपर्ने बताए ।

उहाँले सन्दीप टोलीको महत्त्वपूर्ण बलर भएको र ४ खेलमा १३ विकेट लिँदा टोलीलाई सहज भएको जानकारी दिए । सन्दीपको अनुपस्थितिमा टोलीलाई धेरै खाँचो पर्ने तर उनको स्थानलाई अन्य खेलाडीले लिनुपर्ने बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार युएई भ्रमण गर्दैछ । युएई भ्रमणको क्रममा नेपालले आयोजक युएई र पपुवान्युगिनीसँगै दुई खेलको त्रिकोणात्मक शृङ्खला खेल्ने तालिका रहेको छ । नाबालिक बलात्कारको आरोप लागेको सन्दीपलाई अदालतले विदेश जान रोक लगाएको छ । त्यसैले नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीपलाई टिममा समावेश गरेको छैन ।

भ्रमणको क्रममा नेपालले युएईको भूमिमा चार खेल खेल्नेछ भने लगत्तै नेपाल फर्किएर थप उनै टोलीसँग थप चार खेल खेल्नेछ । युएई भ्रमण अन्तर्गत नेपालले पहिलो खेल २७ तारिखमा पपुवान्युगिनिसँग खेल्नेछ भने दोस्रो खेल २ मार्चमा युएईसँग हुनेछ । यस्तै, तेस्रो खेल ३ मार्चमा पपुवा न्युगिनीसँग पुनः हुनेछ भने ६ मार्चमा घरेलु टोली युएईसँग दोस्रो खेले खेलेर स्वदेश फर्कनेछ ।

लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अङ्कका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तीमा ५ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।

नेपाली टोली : रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जि.सी र श्याम (मौसम) ढकाल

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy