तेस्रो खेलमा पनि चल्यो सन्दिपको स्पिन, मोन्टरियल टाइगर्सको पहिलो जित

  • विकेटनेपाल – असार २१, बिहिवार

अष्ट्रेलियाका तिब्र गतिका बलर पिटर सिड्डलको चार विकेट र नेपाली स्टार सन्दिप लामिछानेको किफायती बलिंगमा मोन्टरियल टाइगर्सले ग्लोबल टि-२० लिगमा पहिलो जित दर्ता गरेको छ।

क्यानडाको किंग सिटिमा बुधवार सम्पन्न खेलमा मोन्टरियल टाइगर्सले एडमोन्टन रोयल्सलाई १६ रनले हराउंदै पहिलो जित दर्ता गर्यो। टस हारेर ब्याटिंगको निम्तो पाएको टाइगर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन मात्र जोड्न सकेको थियो। स्लो पिचमा ब्याट्सम्यानहरुले समायोजन गर्न नसक्दा टाइगर्स ठूलो स्कोर बनाउनबाट चुकेको थियो। उसका मोजेज अन्रीकेजले ४९ बलमा ५ चौका र १ छक्का सहित ५० रन बनाएका थिए। रोयल्सको बलिंगमा वाएन पार्नेलले ३ विकेट हात पारेका थिए।

जवाफममा १३० रनको सामान्य विजय लक्ष्य लिएर मैदान उत्रिएको रोयल्सले १९.१ ओभरमा ११३ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो। उसको चेजमा ल्युक रोंकीले ३० र शैमान अनवरले २४ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन्। झिनो लक्ष्यको बचाउ गर्ने क्रममा टाइगर्सका लागि पिटर सिड्डलले ४ विकेट चट्काए। यस्तै नेपाली लेग स्पिनर सन्दिप लामिछानेको नाममा १ विकेट रह्यो।

सन्दिपको किफायती बलिंग :

ग्लोबल टि-२० लिग अन्तर्गत आफ्नो टोलि मोन्टरियल टाइगर्सलाई प्रतियोगितामा पहिलो जित दिलाउन सन्दिप लामिछानेले महत्वपूर्ण भूमिका खेले। आफ्नो ४ ओभरको स्पेलमा सन्दिपले किफायती बलिंग गर्दै १ मेडन सहित १६ रन खर्चेर १ विकेट चट्काए।

Sandeep Lamichhane
Sandeep Lamichhane

पिचले स्पिनरलाई सहयोग पुर्याईरहेको समयमा टोलीको तेस्रो ओभर लिएर आएका सन्दिपले कसिलो बलिंग प्रदर्शन गरे। वेस्ट इन्डिजका चर्चित हिटर आन्द्रे फ्लेचरलाई ओभरको पाँचौं बलमा गुग्लीमा बोल्ड गर्दै सन्दिपले टोलीको लागि पहिलो विकेट लिएका थिए। सन्दीपको पहिलो ओभर विकेट मेडन रहन पुग्यो।

आफ्नो दोस्रो ओभरमा ल्युक रोंचीले प्रहार गरेको सट रोक्ने प्रयासमा सन्दिपको औलामा चोट लाग्न पुगेको थियो। सो ओभरमा उनले ५ रन खर्चिए। यस्तै आफ्नो स्पेलको तेस्रो ओभर गर्न नवौं ओभरमा आएका सन्दिपले ७ रन खर्चंदा टोलीको बाह्रौँ ओभर गर्दै ४ रन खर्चिएर आफ्नो स्पेल पुरा गरे।

प्रतियोगितामा पहिलो जितसंगै टाइगर्सको ४ खेलबाट २ अंक भएको छ र अन्कतालिकामा पाँचौं स्थानमा रहेको छ। शिर्ष स्थानको ड्वेन ब्राभो कप्तानीको विन्नीपिग हक्सको भने ३ खेलबाट ४ अंक रहेको छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy