सन्जम र हसिमलाई कतारमा टेस्ट राष्ट्रका खेलाडीहरुसंग मैत्रीपूर्ण खेलको अवसर

Hasim Ansari , Sanjam Regmi
  • विकेटनेपाल, पौष २ , सोमबार 

कतार क्रिकेट संघले आफ्नो राष्ट्रिय क्रिकेट दिवस ( नेशनल डे ) को उपलक्ष्यमा यही पुष ३ गते मंगलबार आयोजना गर्न लागेको कतारको राष्ट्रिय र अन्य बिभिन्न देशका खेलाडीहरु सम्मिलित टोलि बीचको मैत्रीपूर्ण क्रिकेट खेलको लागि २ नेपाली खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन्।

कतार क्रिकेट संघले नेपाल क्रिकेट संघ ( क्यान ) लाई पत्राचार गरेपछि सिनियर राष्ट्रिय क्रिकेटर सन्जम रेग्मी र अन्डर-१९ राष्ट्रिय क्रिकेटर हसिम अन्सारीलाई चयन गर्दै निर्वाचित क्रिकेट संघले त्यसतर्फ पठाएको प्रेस बिज्ञप्तिमार्फत संघले जानकारी गराएको छ।

नेपाल क्रिकेट संघद्वारा जारि प्रेस बिज्ञप्तिमा अन्य राष्ट्रिय खेलाडीहरु एभरेस्ट प्रिमियर लिग खेल्न ब्यस्त रहेकोले प्रतियोगिता नखेलीरहेका २ खेलाडीलाई मौका दिएको बताईएको छ। दुबै जना खेलाडी सोमबार बिहान कतार एयरवेजको ११ः४० को उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका छन्। खेलाडीहरुलाई क्यान निर्वाचित समितीका उपाध्यक्ष दीवाकर घलेले बिदाई गरेका छन्।

मैत्रीपूर्ण खेल खेल्ने बापत दुबै खेलाडीले आठ/आठ सय डलर (अन्दाजी ९० हजार भन्दा बढि) म्याच फी पाउने समेत संघले बिज्ञप्तिमा बताएको छ।

एसियाली टेस्ट राष्ट्रका खेलाडीहरुसंग खेल्ने मौका 

सन्जम र हसिम खेल्ने एसियन स्टार्स टिममा श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र भारत जस्ता टेस्ट राष्ट्रका खेलाडीहरु सहभागी हुँदै छन्। पाकिस्तानबाट उमर गुल र फवाद आलम, श्रीलंकाबाट अजन्था मेन्डिस र असिल सम्पथ, बंगलादेशबाट मोहम्मद अश्रफुल र मोहम्मद इलिएस, अफगानिस्थानबाट मोहम्मद यामिन अहमदजाई, असदुल्लाह खान र भारतबाट भेंकटेस प्रसाद जस्ता क्रिकेटरहरु खेल्दै छन्।

कतार स्टार्स टिम : इनाम उल हक ( कप्तान ) , तमुर सज्जाद , मोहम्मद रिज्लान, फैसल खान, मालिक अवेस, हफिज तन्भिर, हफिज नदीम, एम नोमन, इमरान अशरफ, इकबाल चौधरी, कमरान खान, जहिरुद्दीन, गयन, खुर्रम शाहजाद

सन् २००१ मा भएको आईसीसी ट्रफी प्रतियोगितामा नेपालको लागि डेब्यु गरेका ३६ बर्षिय अफ स्पिनर सन्जम रेग्मी अन्तिम पटक सन् २०१३ मा बर्मुडामा सम्पन्न डिभिजन-३ प्रतियोगितामा नेपाल बिजयी हुँदा टिमको सदस्य रहेका थिए।त्यस प्रतियोगितामा रेग्मीले ४ खेलमा ७ विकेट लिएका थिए।  रेग्मीले त्यसपछि नेपाली राष्ट्रिय टिममा स्थान बनाउन सकेका छैनन्।

Sanjam Regmi
Sanjam Regmi

२०१६ को एभेरस्ट प्रिमियर लिगमा अन्तिम पटक नेपाली फ़्रेञ्चाइज क्रिकेट लिग खेलेका सन्जम त्यसपछि कुनै फ़्रेञ्चाइज टि-२० लिग खेलेका छैनन्। घरेलु ५० ओभर प्रतियोगिता प्रधानमन्त्रि कपमा रेग्मीले प्रदेश नम्बर २ को प्रतिनिधित्व गरेका थिए। त्यस प्रतियोगितामा प्रदेश नम्बर १ बिरुद्ध १ खेलमा ५ विकेट लिएका रेग्मीले अन्य खेलमा विकेटविन रहेका थिए।

२७ बर्षिय ब्याट्सम्यान हसिम अन्सारीले नेपाल राष्ट्रिय यु-१९ टिमको लागि सन् २०१२ को यु-१९ बिश्वकपमा प्रतिनिधित्व गरेका थिए। त्यस पछि राष्ट्रिय टिमको बन्दसत्रमा स्थान बनाउदै आए पनि हसिमले राष्ट्रिय टिमसम्म भने स्थान बनाउन सकेका छैनन्। गत बर्ष प्रधानमन्त्रि कपमा हसिमले मध्यमाञ्चलको प्रतिनिधित्व गर्दै स्टार शशस्त्र प्रहरी बल ( एपीएफ ) बिरुद्ध शतक बनाएका थिए।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy