अभानी प्रिमियर लिग : सन्तोष र प्रदिप चम्किंदा सिड्नी स्ट्राइकर्सको जित

अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिग अन्तर्गत दोश्रो जित दर्ता गर्ने क्रममा सिड्नी स्ट्राइकर्स क्रिकेट क्लबले कंगारु क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ।

आइतबार एभरी पार्क मैदानमा सम्पन्न खेलमा सिड्नी स्ट्राइकर्सले कंगारु क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो। कंगारुले दिएको ११४ रनको लक्ष्य सिड्नी स्ट्राइकर्सले १६. २ ओभरमा ५ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा सिड्नी स्ट्राइकर्सका सन्तोष घिमिरेले सर्वाधिक ४३ रन बनाए। घाइते भएर मैदान बाहिर रहेका सन्तोषले आफ्नो पुनरागमन खेलमा आक्रामक ब्याटिंग गर्दै मात्र २३ बलमा १ चौका र ५ विशाल छक्का प्रहार गरे।

यस्तै राष्ट्रिय क्रिकेटर समेत रहेका प्रदिप ऐरीले अविजित ४२ रन बनाउदै जितमा अहम योगदान दिए। ऐरीले ४२ बलमा ६ चौका प्रहार गरे।

यस अघि टस जितेर पहिले ब्याटिंग रोजेको कंगारुले १८. ४ ओभरमा ११३ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि शैलेश हमालले सर्वाधिक ३८ रन बनाए।

सिड्नी स्ट्राइकर्सको बलिंगतर्फ मदन लामाले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १७ रन खर्चिए। यस्तै जितेन्द्र मुखिया, माधन प्रसाईं र संजय प्रणामीले समान २ विकेट लिए। प्रदिप ऐरीले १ विकेट लिए।

जित पछि लिग अंकतालिकामा सिड्नी स्ट्राइकर्स छैठौं स्थानमा छ। ५ खेलमा उसले २ जित र ३ हार बेहोरेको छ। पराजित कंगारु क्रिकेट क्लब पाँचौ हार पछि पुछार अर्थात् आठौँ स्थानमा छ। द मास्टर्स ६ खेलमा १० अंक सहित शिर्षमा छ।

लिग अन्तर्गत आइतबार सम्पन्न अन्य खेलहरुमा द मास्टर्स बाई सिड्नी युनाइटेड, नर्थ शोर भाइकिंग्स, ग्रेट हिट्स अब्बोटाबाद विजयी भएका छन्।

लिग अन्तर्गत प्रत्येक खेलमा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई आयोजकले प्रोत्साहन स्वरूप बिभिन्न पुरस्कार समेत घोषणा गरेको छ। शतक बनाउने खेलाडीले ५० डलर, प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ५० डलर, ४ विकेट लिने खेलाडीले २५ डलर, अर्धशतक बनाउने खेलाडीले २५ डलर तथा उत्कृस्ट क्याच लिने खेलाडीले २० डलर पुरस्कार स्वरूप पाउनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy