सप्तरी प्रिमियर लिग : शुभको शतक बाबजुद छिन्नमस्ता पराजित

२०८० असार ८, शुक्रबार १६:४८

सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण अन्तर्गत छैठौं दिन सम्पन्न दुई वटा खेलमा रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी भएका छन्।

दिनको पहिलो खेलमा रुपनी राइडर्स विजयी भएको छ। छिन्नमस्ता लायन्स विरुद्ध ५ विकेटको जित दर्ता गर्ने क्रममा रुपनीले १७७ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेट क्षेतीमा भेटायो।

रुपनीको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित रोहन बिकले ८२ रन बनाए। उनले ५२ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै अरनिको यादवले २७, मुकुन्द यादवले २५ तथा बिकास दासले २३ रन बनाए। रोहन र विकासले ९२ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे।

यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १७६ रन बनायो। उसको लागि ओपनर शुभ कंसाकारले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा ११८ रन योगदान दिए। उनले मात्र ५७ बलमा ८ चौका र ९ छक्का प्रहार गरे। कमल खत्रीले १४ तथा हिमांशु दत्ताले १३ रन बनाए। रुपनीका बलर मुकुन्द यादवले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए।

Rohan BK of Rupani Riders
Rohan BK of Rupani Riders

दिनको दोश्रो खेलमा बलान बिहुल सुपर किंग्सले राजविराज द किंगलाई ८ विकेटले पराजित गर्यो। राजविराजले दिएको १२५ रनको लक्ष्य बलान बिहुलले १०.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो।

बलान बिहुलको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित हसिम अन्सारीले सर्वाधिक ५२ रन बनाए। अन्सारीले अविजित रहँदै ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। कप्तान पवन सर्राफले ३२, सोनु अन्सारीले २५ तथा रुपेश सिंहले १५ रन बनाए। हसिमले सोनुसंग ५५ रनको ओपनिंग साझेदारी गरे भने दोश्रो विकेटको लागि पवनसंग ४२ रन जोड्दै जितको आधार तयार गरे।

यस अघि टस हारेर ब्याटिंग गरेको राजविराज द किंगले १९.५ ओभरमा १२४ रन बनायो। उसको लागि अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाए भने प्रतिक श्रेष्ठले २२, तृत राज दासले १६ रन बनाए। बलान बिहुलका बलर रुपेश सिंहले ३ तथा विकास दास, रोबिन सिंह र बिष्णु मण्डलले २/२ विकेट लिए।

चौंथो खेलमा तेश्रो जित पछि रुपनी राइडर्स लिग अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। समान अंक भएता पनि बजाज खडक वारियर्स नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा छ। हार पछि छिन्नमस्ता ४ खेलमा ४ अंकका साथ चौंथो स्थानमा छ। यस्तै चौंथो खेलमा दोश्रो जितपछि ४ अंक सहित बलान बिहुल तेश्रो स्थानमा उक्लेको छ जसको पनि शिर्ष-२ हुँदै फाइनल पुग्ने सम्भावना जिवितै छ। लगातार चौंथो हार बेहोरेको राजविराज द किंग अंकविहिन रहँदै पुछारमा छ।

प्रतियोगिता अन्तर्गत शनिवार पनि दुई खेल हुनेछन्। विहान ९ बजे सुरु हुने पहिलो खेलमा राजविराज द किंग र कन्चनरुप राइनोज तथा दिउँसो १ बजे सुरु हुने दोश्रो खेलमा रुपनी राइडर्स र बजाज खडक वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।

सप्तरी क्रिकेट संघको आयोजना रहेको प्रतियोगितामा ६ फ़्रेन्चाइज् टिमको सहभागिता छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy