पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान तथा चर्चित कमेन्टेटर रमिज राजाले विकेटकिपर ब्याट्सम्यान तथा पूर्वकप्तान सरफराज एहमदले टेस्ट क्रिकेटबाट सन्यास लिएर सिमित ओभर क्रिकेटमा बढी ध्यान दिनुपर्ने बताएका छन्। इंग्ल्यान्ड बिरुद्ध जारि सिरिजको पहिलो म्यानचेस्टर टेस्टमा सरफराज १२ औं खेलाडी रहेका थिए।
आफ्नो युट्युब च्यानलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् – “मेरो हिसाबमा एउटा कप्तान भैसकेको मान्छे फेरी तल झरेर बेन्चमा बस्नु निकै मुस्किल काम हो।”
“म सरफराजलाई सल्लाह दिन्छु कि यो कुरा विचार गर्नुस र टेस्ट क्रिकेटबाट बिदा लिएर सिमित ओभर क्रिकेटमा ध्यान दिनुस्। सिमित ओभर क्रिकेटमा उनि राम्रो पनि छन् र आक्रामक पनि छन्।”

५७ वर्षीय राजाले क्रिकेटमा पानि बोक्नु नयाँ कुरा नरहेता पनि पूर्वकप्तान र सिनियर खेलाडीको रुपमा पाकिस्तानमा यो कुरा नरुचाइने समेत बताए।
“जेम्स एन्डरसनले पनि वेस्टइन्डिजसंग दोश्रो टेस्ट नखेल्दा पानि बोकीरहेका थिए। यो गलत काम हैन तर हाम्रो संस्कारमा ( पाकिस्तानमा ) पूर्वकप्तानले यस्तो काम गर्नु राम्रो मानिदैन।”
“मलाई लाग्दैन कि उनले टेस्टमा छिट्टै मौका पाउनेवाला छन्। त्यसैले उनले सेतो बल क्रिकेटमा ध्यानकेन्द्रित गर्नुपर्छ जहाँ उनि खेल्न र सम्मान दुवै पाउनेछन्।”
खेलको दौरान सरफराजले पानि मात्र बोकेका थिएनन् जुत्ता समेत बोकेको देखिएको थियो।
टेस्टमा सरफराजले ४९ खेलमा ३६ को औशतले २,६५७ रन बनाएका छन् जुन क्रममा ३ शतक र १८ अर्धशतक प्रहार गरेका छन्।
राजाले सरफराज टिममा हुँदा अर्का विकेटकिपर मोहम्मद रिजवान माथि दवाव हुने समेत बताए। रिजवानले पहिलो टेस्टमा किपिंग गरेका थिए।
“टेस्ट टिममा सरफराज हुँदा त्यसले मोहम्मद रिजवान माथि अतिरिक्त दवाव थप्ने काम गर्छ। आफ्नै पूर्वकप्तानको स्थानमा टिममा रहंदा उनलाई पक्कै राम्रो महसुस हुँदैन। त्यसैले उनले टेस्ट क्रिकेटबाट विदा लिनु पर्छ।”
३३ वर्षीय सरफराजलाई गत वर्ष तिन वटै फर्म्याटबाट पाकिस्तान क्रिकेट बोर्डले कप्तानको रुपमा हटाउने निर्णय गरेको थियो। ४९ टेस्ट , ११६ वानडे र ५८ टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तानको प्रतिनिधित्व गरिसकेका सरफराजले २०१७ मा पाकिस्तानलाई च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका थिए। त्यसक्रममा पाकिस्तानले फाइनलमा भारतलाई पराजित गरेको थियो। उनको कप्तानीमा पाकिस्तानले टि-२० वरियतामा पहिलो स्थान समेत हाँसिल गरेको थियो।
स्टोक्सको अनुपस्थितिको फाइदा पाकिस्तानले उठाउनेछ
राजाले जारि टेस्ट सिरिजमा पाकिस्तानले पुनरागमन गर्ने विश्वास गर्दै स्टार अल-राउन्डर बेन स्टोक्स टिममा नहुँदा पाकिस्तानलाई फाइदा हुने बताए। स्टोक्स पारिवारिक कारणले यसै साता न्युजिल्यान्ड जानु पर्ने भएपछि बाँकी दुवै टेस्ट गुमाउनेछन्।
स्टोक्स विश्वकै उत्कृस्ट अल-राउन्डर हुन् जसले ब्याट र बल दुवैबाट खेल परिवर्तन गर्ने क्षमता राख्ने गर्छन्। मलाई लाग्छ पाकिस्तानले स्टोक्स नहुनुको फाइदा उठाउनेछ।

पहिलो टेस्टमा ३ विकेटको पाकिस्तानको हारको बारेमा बोल्दै राजाले जोस बटलर र क्रिस वोक्स क्रिजमा हुँदा पाकिस्तानी बलरहरुले सर्ट पिच बलहरु नफालेकोमा अचम्म लागेको बताए। “यो निकै पीडादायी थियो कि हामीले अधिकाँश समय नियन्त्रणमा राखेको टेस्ट गुमाउन पुग्यौं। ”
“म अचम्मित भएको थिए जोस बटलर जो इंग्ल्यान्ड टिममा पर्न रन बनाउने दवावमा थिए र क्रिस वोक्स जो पुच्छर ब्याट्सम्यान हुन् उनीहरुलाई सर्ट पिच बलले आक्रमण गरिएन भने फास्ट बलर पनि लगाइएन। फिल्ड सेटिंग पनि यासिर शाहले बलिंग गर्दा राम्रो गरिएको थिएन।”
यो पनि पढ्नुस :-
https://wicketnepal.com/ben-stokes-will-miss-test-series-wn20/
https://wicketnepal.com/stuwart-broad-fined-eng-vs-pak-wn20/
https://wicketnepal.com/kundan-singh-covid-19-wn20/
https://wicketnepal.com/sangakkara-2-fav-batsman-wn20/
https://wicketnepal.com/subash-khakurel-9-best-innings/
https://wicketnepal.com/dhoni-to-sanjay-manjrekar-wn20/