एक हाते क्याच लिंदा ५० हजार पुरस्कार पाएका दर्शकको यस्तो छ कथा

  • विकेटनेपाल, मङ्सिर २४- सोमबार 

गोरखा घर भएका काठमाडौँ अस्कल कलेजमा आईटि बिषय लिएर ब्याचलर दोश्रो बर्षमा पढीरहेका सरुन भट्ट आइतबार साथीहरुले क्रिकेट हेर्न जाम भने पछि लहैलहैमा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुर पुगे। भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज बीचको खेल हेर्न उनि साथीहरुसंग टियु मैदानको चोभार इन्ड तिर बसे।

खेलमा पहिलो ब्याटिंग गरिरहेको पोखरा राइनोजको लागि खेलीरहेका दक्षिण अफ्रिकी खेलाडी रिचर्ड लेभीले इनिंगको सुरुवात देखिनै आक्रमक ब्याटिंग थाले। लेभीले तिब्र गति बलर कृष्ण कार्कीले गरेको इनिंगको तेश्रो ओभरको तेश्रो बललाई लंग-अनको माथिबाट ठुलो छक्का प्रहार गरे।

लेभीको त्यो प्रहारले आफ्नो भाग्यको चावी खुल्ने छ भन्ने सरुनले सोचेका थिएनन्। आफु भए तिर बल आउदै गरेको देख्ने बितिकै एक हुल दर्शकहरु संगै उनि पनि समात्ने प्रयासमा जुरुक्कै उठे। दर्शक धेरै भए पनि अन्ततः भिड पन्छाउदै बलले सरुनकै हात रोज्यो।

Photo Credit – EPL

इपिएल आयोजकले प्रतियोगिता अघिनै दर्शकले १ हातले क्याच गरेको खण्डमा रु. ५० हजार पाउने घोषणा गरेको थियो जसलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा कन्सल्टेन्सीले प्रायोजन गरेको छ। क्याच गरेपछि इपिएल आयोजकले सरुनलाई सोमबार ५० हजार रुपैयाँ दिने घोषणा गर्यो। पुरस्कार पाउने पक्का भए पछि सोमबार बेलुका सरुन भट्टले पत्रकारहरुसंग कुराकानी गरेर आफ्नो अनुभव बताएका छन्, जसलाई जस्ताको तस्तै प्रस्तुत गरेका छौँ-

एक हातले क्याच गरेर ५० हजार जित्नु भएको छ, कस्तो महसुस गर्दै हुनुहुन्छ ? 

रमाइलो लाग्यो, क्याच गर्छु भनेर आको चै हैन, साथीहरुसंग आउदा खेरि, मेरो केले …. (अकमकिदै ) काम गर्यो होला, त्यही भएर क्याच भयो”

तपाईले क्याच लिनु भएपछि बिबाद पनि थियो, कसरि निर्णय भयो ? 

क्लिप्सहरु ( भिडियो ) हेर्नु भयो रे, क्लिप हेरेपछि चै रिजल्ट फाइनल भए पछि मलाई कल गर्नु भयो

तपाईले क्याच लिंदाको पल याद गर्नुस न 

एकदमै त्यो .. सबै जना त्यो  …  भिड थियो हैन .. मैले चै अनि क्याच गरे

क्याच आउछ भनेर पहिले देखि तयार हुनुहुन्थ्यो ? 

त्यस्तो तयार पनि हैन, ‘एड्रीनालिन रस’ ( आकस्मित परिस्थितिमा दिमागले तत्काल गर्ने निर्णय ) भन्छ, सायद त्यसले काम गर्यो,  त्यसलेनै काम गर्यो जस्तो लाग्यो

क्याच समातेपछि के गर्नु भयो ? 

क्याच समातेपछि सबैलाई थाहा छ है… ( हाँस्दै ) एकछिन चै … डान्सनै गरे है ( फेरी हाँस्दै ) साथीहरुसंग रमाइलो गरे त्यही हो

त्यसपछि क्याच लिएको बल के गर्नु भयो ? 

त्यो बल दिनु पर्नेरैछ , मेरो साथीले दे भने पछि मैले दिए

आज पनि खेल हेर्न आउनु भएको थियो कि आयोजकले बोलाएर मैदानमा आउनु भयो ? 

खेल सामान्यता हेर्न आइरहेको हुन्छु, आज पनि आएकै हो, मैले रिक्वेस्ट गरेको थिए त्यसपछि मलाई आयोजकले फाइनल भए पछि आयोजकबाट कल आएको थियो

हाल के गर्दै हुनुहुन्छ ? 

म अस्कलमा आईटि पढ्दैछु अहिले , त्यही नै हो

नेपाली क्रिकेट कति पछ्याउनु हुन्छ ? 

नेपाली क्रिकेट चै म पछ्याउने गर्छु,  बाहिरको चै म धेरै पछ्याउदिन , नेपालको चै म समर्थन गर्छु

५० हजार पाउनु भो अब त्यो पैसालाई के गर्ने सोच्नुभाको छ ? 

त्यो सोच अनुसार त हुँदैन है , जे हुन्छ त्यही नै गरिन्छ सायद अब

जारि एभरेस्ट प्रिमियर लिगको बारेमा तपाईको धारणा के छ ? 

सबै जनाले सपोर्ट गर्नुपर्छ नेपाली क्रिकेट, नेपाली फ्यानहरु सपोर्टनै गर्नुहुन्छ जस्तो लाग्छ अनि यो वातावरण हामीलेनै राम्रो बनाउनु पर्छ, जसरि अन्तर्राष्ट्रिय खेलाडीहरु आईरहनु भएको छ हामीले स्वागत गर्नुपर्छ

नेपाली क्रिकेटर मध्येमा को मन पर्छ ? 

मलाई सबैनै मन पर्छ,  यही भन्न त मिल्दैन तर पारस खड्का वहाँ मेरो प्रिय खेलाडी हुनुहुन्छ

इपिएलमा कुन टिमको समर्थन गर्दै हुनुहुन्छ ?

सबै खेल हेरीरहेको हुन्छु, यही टिम भन्ने चै छैन, सायद चितवन

क्याच लिने दिन कुनै राम्रो सपना देख्नु भएको थियो कि ? 

त्यस्तो सपना देखेर आको हैन, कलेजमा थिए साथीहरुले जाम भनेर आको हो , सपना देखेर आको चै हैन

क्याच अरुले समातेको तर अरुको हात हुँदै तपाईको हातमा आएको भन्ने सुनिएको थियो , हो कि हैन ? 

हँ, त्यस्तो अब.. नेपालमा भैहाल्छ है… मिडिया एकदम त्यो … तगडा छ भनुम्न, भिडियो क्लिप हेरेरनै दिनु भएको हो वहाँले

( फोटोहरु – राजन अधिकारी / विकेटनेपाल ) 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy