लुम्बिनीलाई हराउँदै मधेस सेमिफाइनलमा

लुम्बिनी प्रदेशमाथि १६ रनको रोमाञ्चक जित निकाल्दै मधेस प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। स्कोरकार्ड 

इटहरीको जनता पार्कमा सम्पन्न बुधवारको पहिलो खेलबाट सुखद नतिजा निकाल्दै मधेस प्रदेशले अन्तिम चारमा स्थान बनाएसँगै इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि समूह ‘ए’बाट सुदूरपश्चिम समूह विजेता र एपिएफ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए। यस्तै समूह ‘बी’बाट प्रदेश १ सबै खेलमा जित निकाल्दै नकआउट चरणमा पुगेको थियो।

बुधवार अन्तिम चारमा स्थान बनाउने क्रममा मधेसले प्रस्तुत गरेको १०८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र ९१ रन जोड्न सक्यो। लुम्बिनीका लागि रञ्जु श्रेष्ठ र मधु डिसीले अविजित समान २१ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन।

यसअघि ओपनर लक्ष्मी चौधरीले १२ रन जोड्दै मध्यम सुरुवात गर्दा आस्मा पुलामी मगर र कप्तान सरस्वती जिएमले समान ११ रनको पारी खेलेका थिए। यस बाहेक सरस्वती पुनले १० रन जोड्दा सुस्मिता बजगाईँ शून्यमा पेभेलियन फर्किन्। लुम्बिनीको इनिङ रोक्ने क्रममा मधेसकी भूमि सिंहले दुई तथा कप्तान कविता गौतमले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले पूरै २० ओभरमा पाँच विकेटको क्षतिमा १०७ रन बनाएको थियो। मधेसका लागि साना प्रविनले ६४ बलमा पाँच चौका मद्दतमा सर्वाधिक ४६ तथा रोजी कडारीले १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कको स्कोर गर्न सकेनन्। लुम्बिनीका लागि मनीषा राना, सरस्वती पुन र बिवास्ना जिसीले समान एक विकेट लिए।

प्रतियोगितामा शुक्रवार सेमिफाइनल खेल हुनेछन्। दिनको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा दोस्रो सेमिफाइनल खेल एपिएफ र प्रदेश १ बीच हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy