नवौं राष्ट्रिय महिला क्रिकेटको सेमीफाइनल समीकरण पुरा

२०७९ आश्विन ३०, आईतवार १७:०४

पोखरामा जारि नवौं राष्ट्रिय क्रिकेट अन्तर्गत महिला क्रिकेटको सेमीफाइनल समीकरण पुरा भएको छ।

समुह ‘ए’ बाट विजेता र उपविजेताको रुपमा एपीएफ र बागमती प्रदेश तथा समुह ‘बि’ बाट विजेता र उपविजेताको रुपमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरेका छन्।

पोखरा रंगशाला क्रिकेट मैदानमा सम्पन्न जित्नै पर्ने खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमीफाइनल स्थान पक्का गर्यो। सेमीफाइनलमा बागमतीले सोमबार नेपाल पुलिस क्लबसंग प्रतिस्पर्धा गर्नेछ।

मधेश प्रदेशले दिएको ५५ रनको लक्ष्य बागमतीले २ विकेट गुमाएर १३.२ ओभरमा भेटायो। सुमन खतिवडाले अविजित १७, अनिशा मजाकोटिले अविजित १६ तथा अश्मिता खरेलले १३ रन योगदान दिए। टस हारेर पहिले ब्याटिंग गरेको मधेश प्रदेश १८.२ ओभरमा ५४ रनमा समेटिएको थियो। उसका कुनै पनि ब्याटर ले दोहोरो अंकमा रन जोड्न नसक्दा अतिरिक्त मार्फत आएको १९ रन सर्वाधिक योगदान रह्यो। बागमती प्रदेशको बलिंगमा बिपिशा शाही, सोनी पाख्रिन र खुसि डंगोलले २/२ विकेट लिए।

दिनको अर्को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्यो जुन क्रममा सुदूरपश्चिमले दिएको ९३ रनको लक्ष्य १६ ओभरमा भेटायो। एपीएफको लागि प्लेयर अफ द म्याच इन्दु बर्माले सर्वाधिक ४५ रन बनाईन् भने ज्योति पाण्डे र रोमा थापाले समान ११ रन बनाए।

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले ऋतु कनौजियाको ३५, रुबी पोद्दारको २३ तथा स्नेहा महराको १८ रन मद्दतले २० ओभरमा ३ विकेट गुमाएर ९२ रन बनाएको थियो। एपीएफ बलर नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले १/१ विकेट लिए।

समुह ‘ए’ को विजेता एपीएफले समुह चरणमा सबै ४ खेलमा जित दर्ता गर्यो भने बागमतीले ३ खेलमा जित र १ खेलमा हार बेहोर्यो। मधेश प्रदेशले २ जित र २ हार बेहोर्दा सुदूरपश्चिमले एक मात्र खेल जित्यो। गण्डकी प्रदेश एक खेल पनि जित्न असफल रह्यो। समुह ‘बि’ मा नेपाल पुलिस क्लबले सबै तिन खेल जित्दा लुम्बिनी प्रदेश र प्रदेश-१ ले १/१ खेल जितेता पनि नेट रन रेटमा लुम्बिनीले प्रदेश-१ लाई पछि पार्दै सेमीफाइनल पुग्यो। दुवै टिमको तिन अंक रहेता पनि लुम्बिनीको नेट रन रेट ०.१७५ रह्यो भने प्रदेश-१ को -१,७५० रह्यो। कर्णाली प्रदेश तिन वटै खेलमा पराजित भयो।

सोमबार हुने पहिलो सेमीफाइनलमा एपीएफले लुम्बिनी प्रदेशसंग बिहान ९:१५ बजे प्रतिस्पर्धा गर्नेछ भने दोश्रो सेमीफाइनलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब १:१५ बजे प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy