सुपर ओभरमा पुगेको खेलमा सेन्ट किट्सको जित, ब्राथवेटको उत्कृस्ट प्रदर्शन

२०७६ आश्विन १, बुधबार १२:४८

करेबियन प्रिमियर लिग अन्तर्गत बुधबार बिहान सम्पन्न सुपर ओभरमा पुगेको रोमान्चक खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सले ट्रिनबागो नाइट राइडर्सलाई पराजित गरेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै ट्रिनबागोले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले पनि २० ओभरमा २१६ रननै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पहिले ब्याटिंग गरेको सेन्ट किट्सले अलि खानले गरेको ओभरमा १८ रन बनाएको थियो। कार्लोस ब्राथवेटले २ छक्का र १ चौका प्रहार गरे। १९ रनको लक्ष्य पछ्याउने क्रममा ब्राथवेटले गरेको ओभरमा ट्रिनबागोले मात्र ५ रन बनाउन सक्यो। पहिलो बलमै ब्राभो आउट भएपछि सिमोन्सले काइरन पोलार्डलाई स्ट्राइक दिएका थिए। पोलार्डले खेलेको बाँकी ३ बलमा बलमा एउटा मात्र चौका मात्र प्रहार गर्न सके।

यस अघि सेन्ट किट्सले २१७ रनको लक्ष्य पछ्याउने क्रममा पनि ब्राथ वेटले उत्कृस्ट इनिंग खेलेका थिए। टिम ८०/४ को अवस्थामा रहंदा कप्तानी इनिंग खेल्ने क्रममा ब्राथवेटले शाम्राह ब्रुक्ससंग पाँचौ विकेटको लागि ८४ रनको साझेदारी गरेका थिए।

ब्रुक्सले २० रन बनाए भने ब्राथवेटले ३० बलमा ६ चौका र ४ छक्का मदतले ६४ रन बनाए। यस अघि ओपनर इभिन लुइसले २१ बलमा ३ चौका र ५ छक्का मदतले ४५ रन बनाएका थिए। ट्रिनबागोको बलिंगमा एण्डरसन फिलिपले ३ तथा अलि खानले २ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा ट्रिनबागोले २० ओभरमा ४ विकेट गुमाएर २१६ रन बनाएको थियो। उसको लागि ओपनर लेन्डल सिमोन्सले ४५ बलमा ९० रन बनाएका थिए। उनले ९ चौका र ६ छक्का प्रहार गरे। कोलिन मुनरोले २८, डेरेन ब्राभोले २४, जेम्स निशमलले २२ तथा कप्तान पोलार्डले १९ रन बनाए।

अंकतालिका 

लिगमा ट्रिनबागोको यो पाँचौ खेलमा पहिलो हार हो। हार पछि ट्रिनबागो ४ जित र १ हार सहित अंकतालिकामा दोश्रो स्थानमा रहेको छ। समान ८ अंक रहे पनि गुएना नेट रन रेटमा अघि रहँदै शिर्ष स्थानमा छ। सेन्ट किट्सले भने ७ खेलमा तेश्रो जित हात पार्दै तेश्रो स्थानमा छ।

लिग अन्तर्गत आज जमैका तल्लावाह र गुएना अमेजोन वारियार्स बीच खेल हुनेछ। सन्दिप लामिछानेको टिम बार्बाडोस ट्राइडेन्टले आगामी खेल शनिवार बिहान सेन्ट लुसिया बिरुद्ध खेल्नेछ।

खेलको फोटोहरु 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy