काठमाडौं । नेपालले शुक्रबार एसीसी महिला एसिया कपमा युएईलाई ६ विकेटले पराजित गर्दै एसिया कपको ईतिहासमा पहिलो जित दर्ता गरेको छ ।
यस खेलमा बनेका सात कीर्तिमान यसप्रकार रहेका छन् :
१) एसिया कपमा पहिलो जित
महिला तथा पुरुष एसिया कपमा नेपालको यो नै पहिलो जित हो । महिला एसिया कपको यस अघिका आठ खेलमा पराजित नेपालले नवौं खेलमा आएर जितको स्वाद चाखेको हो । गत वर्ष पहिलो पटक पुरुष एसिया कपमा सहभागी पुरुष टोलीले दुई खेल खेल्दै कुनै पनि जित हात पार्न सकेको थिएन ।
२) महिला एसिया कपमा पहिलो अर्धशतक
नेपालका लागि पुरुष एसिया कपमा यस अघि नै अर्धशतक प्रहार भएतापनि महिला एसिया कपमा भने युएईविरुद्धको खेलमा सम्झना खड्काले पहिलो अर्धशतक पूरा गरेकी हुन् । सम्झनाले ३५ बलमा आठ चौकाको सहयोगमा अर्धशतक प्रहार गरेकी थिईन् ।
३) एकै इनिङमा सर्वाधिक चौका प्रहार
महिला एसिया कपको ईतिहासमा नेपालले एकै शुक्रबार युएईविरुद्धको खेलमा सर्वाधिक धेरै चौका प्रहार गर्यो । युएईविरुद्ध नेपालले १४ चौका प्रहार गरेको थियो । यसअघि २०१६ को एसिया कपमा बंगलादेशविरुद्धको खेलमा नेपालले सर्वाधिक चार चौका प्रहार गरेको थियो ।
४) सर्वाधिक व्यक्तिगत रन
महिला तथा पुरुष एसिया कपमा युएईविरुद्ध सम्झना खड्काले बनाएको अविजित ७२ रन नै सर्वाधिक रन हो । यसअघि पुरुष एसिया कपमा गत वर्ष आसिफ शेखले भारतविरुद्ध ५८ रन तथा महिला एसिया कपमा २०१६ मा श्रीलंका र थाईल्यान्डविरुद्ध ज्योती पाण्डेले समान १६ १६ रन बनाएकी थिईन् ।
५) एकै संस्करणको सर्वाधिक व्यक्तिगत रन
शुक्रबार युएईविरुद्ध सम्झना खड्काले प्रहार गरेको ७२ रन महिला एसिया कपमा नेपाली खेलाडीले एकै संस्करणमा बनाएको सर्वाधिक रन हो । सिता राना मगरले २०१२, २०१६ र २०२४ मा गरि ५८ रन बनाएकी थिईन् । सम्झनाले सिताको कीर्तिमान एसिया कपमा आफ्नो डेब्यु खेलमा नै तोडिदिईन् । पुरुष एसिया कपमा भने सोमपाल कामीले २०२३ को एसिया कपमा ७६ रन बनाएका थिए ।
६) एकै ईनिङमा व्यक्तिगत रुपमा सर्वाधिक चौका प्रहार
युएईविरुद्धको खेलमा ओपनर सम्झना खड्काले ७२ रन बनाउँने क्रममा ११ चौका प्रहार गरिन् । सम्झनाले प्रहार गरेको ११ चौका एसिया कपमा एकै ईनिङमा कुनै पनि नेपाली खेलाडीले प्रहार गरेको सर्वाधिक धेरै चौका हो । यसअघि महिला एसिया कपमा सिता राना मगरले २०१६ मा बंगलादेशविरुद्ध सर्वाधिक ३ चौका प्रहार गरेकी थिईन् । पुरुष एसिया कपमा भने २०२३ मा भारतविरुद्ध आसिफ शेखले ८ चौका प्रहार गरेका थिए ।
७) एकै ईनिङमा नेपालको सर्वाधिक उच्च रन
महिला एसिया कपको ईतिहासमा नेपालले शुक्रबार युएईविरुद्ध बनाएको १ सय १८ रन नै एकै ईनिङमा बनाएको उच्च रन हो । यसअघि २०१६ मा थाईल्याण्डमा भएको एसिया कपमा घरेलु टोलीविरुद्ध बनाएको ६३ रन नै उच्च रहेको थियो ।