विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल टि-२० ) खेल्ने भएका छन्।
ईपीएल टि-२० को चौथो संस्करण सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिख ( असोज ९ देखि २३ गते ) सम्म आयोजना हुँदैछ जसमा ‘बुम बुम’ उपनामले चर्चित अफ्रिदीलाई ईपीएलको फ्रेन्चाइज काठमाडौँ किंग्स-११ ले अनुबन्ध गरेको हो। नेपाली चर्चित लेग स्पिनर सन्दिप लामिछाने पनि किंग्स-११ मा समाबेश छन्।
नेपाली घरेलु क्रिकेट खेल्ने अफ्रिदी सबैभन्दा ठूलो नाम हुनेछन्। ईपीएलको अघिल्लो संस्करण २०१८ मा टेस्ट राष्ट्र दक्षिण अफ्रीकाका क्रिकेटर रिचर्ड लेभीले पोखरा राइनोजको प्रतिनिधित्व गरेका थिए भने आयरल्याण्डका पल स्टरलिंग र केभिन ओ ब्रायन चितवन टाइगर्स र काठमाडौँ किंग्स-११ बाट खेलेका थिए। यस्तै २०१७ ईपीएलमा श्रीलंकन क्रिकेटर फर्भेज महरुफले काठमाडौँ किंग्स-११ को कप्तानी गरेका थिए।
गत वर्ष चैत्र १ गते देखि १५ गते सम्म आयोजना हुने घोषणा गरिएको लिग कोभिड१९ का कारण स्थगित भएको थियो। गत वर्ष पोखरा राइनोजले वेस्टइन्डिजका स्टार क्रिकेटर क्रिस गेललाई आबद्ध गरेको थियो। तर यो सिजन ईपीएलसंग आईपीएलको खेल तालिका जुध्ने हुँदा गेल खेल्न पाउनेछैनन्। अर्का चर्चित क्रिकेटर एबि डी भिल्लीयर्स पनि ईपीएल खेल्ने चर्चा थियो तर आईपीएलसंग तालिका जुधेकै कारण उनि पनि ईपीएलको लागि उपलब्ध हुने छैनन्।
यो सिजन विदेशी खेलाडीको घोषणा गर्ने काठमाडौँ किंग्स-११ पहिलो टोलि हो। अन्य ५ टोलिले हालसम्म विदेशी खेलाडीको नाम सार्वजनिक गरेका छैनन्। गत वर्ष न्युजिल्यान्डका कोरे एण्डरसन, आयरल्याण्डका पल स्टरलिंग र केभिन ओ ब्रायन, श्रीलंकाका उपुल थारांगा, वेस्टइन्डिजका ड्वेन स्मिथ र केसरिक् विलियम्स, अफगानिस्तानका मोहम्मद शहजाद, जस्ता खेलाडीहरु आउने तय भएको थियो। यो सिजन यी खेलाडीहरु पुनः आवद्ध भएको घोषणा टिमहरुले गरेका छैनन्।
कीर्तिमानी अफ्रिदी
४१ वर्षीय अफ्रिदीले सन् १९९६ मा केन्या बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। २०१८ मे मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका उनले ३९८ एकदिवसीय अन्तर्राष्ट्रिय, ९९ टि-२० अन्तर्राष्ट्रिय र २७ टेस्टमा देशको प्रतिनिधित्व गरेका थिए। यस क्रममा उनले एकदिवसीयमा ८,०६४ रन बनाउनुको साथै ३९५ विकेट लिए, टि-२० मा १,४१६ रन र ९८ विकेट तथा टेस्टमा १,७१६ रन र ४८ विकेट आफ्नो नाम गरे। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास पछि पनि अफ्रिदी विश्वभर टि-२० लिगहरुमा सक्रिय रहेका छन्।
घातक लेग स्पिन र आक्रामक ब्याटिंग स्वभावका कारण चर्चित अफ्रिदीले १९९६ मा श्रीलंका बिरुद्ध मात्र ३७ बलमै शतक प्रहार गर्दै छिटो एकदिवसीय शतकको विश्वरेकर्ड बनाएका थिए। उक्त रेकर्ड २०१४ न्युजिल्यान्डका कोरे एन्डसनले वेस्टइन्डिज बिरुद्ध ३६ बलमा शतक बनाउदै तोडेका थिए। २०१५ मा दक्षिण अफ्रीकाका ए बि डी भिल्लीयर्सले वेस्टइन्डिज बिरुद्ध ३१ बलमा शतक बनाउदै रेकर्ड आफ्नो नाम गरेका थिए। अफ्रिदीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन्। उनले कुल ३५१ छक्का प्रहार गरेका थिए। उनि पछि दोश्रो धेरै क्रिस गेलले ३३१ छक्का प्रहार गरेका छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने ब्याट्सम्यान अफ्रिदी हुन् जसले श्रीलंका बिरुद्ध १९९६ मा शतक बनाउदा उनको उमेर १६ वर्ष २१७ दिन थियो। अफ्रिदी २००९ को टि-२० विश्वकप पाकिस्तानले जित्दा फाइनलको प्लेयर अफ द म्याच चुनिएका थिए। यस्तै २००७ टि-२० विश्वकपमा उनि प्लेयर अफ द सिरिज चुनिएका थिए। उनले २०११ को एकदिवसीय विश्वकपमा पाकिस्तानको कप्तानी गरेका थिए। अन्तिम पटक अफ्रिदीले यो वर्ष फेब्रुअरीमा पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तानको प्रतिनिधित्व गरेका थिए।
कस्तो छ काठमाडौँ किंग्स-११ टिम
काठमाडौँ किंग्स-११ टोलिमा मार्की खेलाडी सन्दिप लामिछाने बाहेक दिपेन्द्र ऐरी, जितेन्द्र मुखिया, सुबास खकुरेल, राजु रिजाल, अमृत भट्टराई, अमित श्रेष्ठ, संसाद शेख, अमर सिंह रौटेला, आकाश चन्द, शेर मल्ल र दिपेन्द्र रावत रहेका छन्। गत वर्ष सोमपाल कामिलाई चितवन टाइगर्समा ट्रेड गर्दै टिमले दिपेन्द्र ऐरीलाई चितवनबाट ल्याएको थियो।
पछिल्लो सिजन २०१८ मा काठमाडौँ किंग्स-११ लिग अंक तालिकाको दोश्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गर्न सफल रहेको थियो। पहिलो र दोश्रो क्वालिफायरमा ललितपुर र भैरहवासंग पराजित हुँदै टिमको यात्रा समाप्त भएको थियो। ईपिएलमा ६ वटा टोलिको सहभागिता रहनेछ। डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिएट्ससंगै काठमाडौँ किंग्स-११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडीएटर्स र बिराटनगर वारियर्स लिगमा सहभागी टिमहरु हुन्।
लिगको अघिल्लो सिजन २०१८ डिसेम्बरमा आयोजना भएको थियो। उपाधि जित्ने क्रममा ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रिएट्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गरेको थियो। लिग सिंगल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुनेछ। समुह चरणमा सबै ६ टिमले एकअर्का बिरुद्ध १-१ खेल खेलेपछि अंकतालिकामा शिर्ष-४ टिमले प्लेअफमा स्थान बनाउनेछ।