स्टार देब्रे हाते स्पिनर शाकिब अल हसनले घातक बलिंग गर्दै कीर्तिमान बनाउदा घरेलु टोलि जिम्बाब्वे बिरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा बंगलादेश १५५ रनको विशाल अन्तरले विजयी भएको छ।
हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा बंगलादेशले दिएको २७७ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले २७.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेको लागि विकेटकिपर ब्याट्सम्यान रेगिस चकाभाले सर्वाधिक ५४ रन, कप्तान ब्रेण्डन टेलरले २४ रन तथा डायन मेयर्सले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। एक समय १०५/४ को अवस्थामा रहेको जिम्बाब्वेले थप १६ रन योगफलमा जोड्दा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। शाकिब अल हसनले जिम्बाब्वेको तल्लो क्रम तहसनहस पारेका थिए।
देब्रे हाते शाकिब अल हसनले ५ विकेट लिने क्रममा ९.५ ओभरमा ३ मेडन ओभर गर्दै ३० रन मात्र खर्चिए। तास्किन एहमद, मोहम्मद सैफुद्दीन र शोरिफुल इश्लामले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २७६ रन बनाएको थियो।
बंगलादेशको लागि ओपनर लिटन दासले शतकीय योगदान दिने क्रममा ११४ बलमा ८ चौका मद्दतले १०२ रन बनाए। दासको एकदिवसीय अन्तर्राष्ट्रियमा यो तेश्रो शतक हो। यस्तै अफिफ हुसेनले ४५ रन, महमुदुल्लाहले ३३ रन, मेहदी हसनले २६ रन तथा शाकिब अल हसन र मोहम्मद मिथुनले समान १९ रन बनाए।
७४ रनमा ४ विकेट गुमाएको अवस्थामा लिटन दास र महमुदुल्लाह बीच पाँचौ विकेटको लागि ९३ रनको साझेदारी बह्येको थियो। त्यसपछि अफिफ होसेन र मेहदी हसनले सातौँ विकेटको लागि ५८ रनको साझेदारी गरे।
जिम्बाब्वेको बलिंगमा लुक जोंग्वेले सर्वाधिक ३ विकेट लिए भने मुजरबानी र एनगरभाले समान २ विकेट र टेण्डाई चताराले १ विकेट लिए।
जितसंगै तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा बंगलादेशले १-० ले अग्रता लिएको छ। दोश्रो खेल जुलाई १८ तारिखमा खेलिनेछ।
शाकिब बने बंगलादेशको तिनवटै फर्म्याटमा सर्वाधिक विकेटकर्ता
खेलमा ५ विकेट लिएका शाकिब अल हसन बंगलादेशको टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टि-२० अन्तर्राष्ट्रिय तिन वटै फर्म्याटमा सर्वाधिक विकेटकर्ता बनेका छन्।
Liton Das century 💯
Shakib Al Hasan five-for 🔥
Bangladesh go 1-0 up in the three-match ODI series with a comprehensive 155-run victory over Zimbabwe 👏#ZIMvBAN pic.twitter.com/ljgbBaMYnO
— ICC (@ICC) July 16, 2021
२६९ रन लिएका मश्रफे मोर्तजालाई पछि पार्दै शाकिब अल हसनले एकदिवसीय अन्तर्राष्ट्रियमा विकेट संख्या २७३ पुर्याएका छन्। टेस्टमा शाकिबले २१५ विकेट तथा टि-२० अन्तर्राष्ट्रियमा ९२ विकेट लिएका छन्।
३४ वर्षीय शाकिबले २००६ मा बंगलादेशको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले हालसम्म ५८ टेस्ट, २१२ एकदिवसीय र ७६ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्।
