आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत आफ्नो चौंथो तथा अन्तिम खेलमा नेपाल र घरेलु टोलि ओमान प्रतिस्पर्धा गर्दैछन्।
अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिंग रोजेको छ। ओमानले पहिले ब्याटिंग गर्नेछ।
खेलमा नेपालले अघिल्लो खेलमा अमेरिकासंग डेब्यु गरेका फास्ट बलिंग अलराउण्डर गुल्सन झालाई अन्तिम-११ मा मौका दिएको छैन। झाले उक्त खेलमा ब्याटिंगमा २८ रन बनाएता पनि बलिंगमा ३ ओभरमा ३१ रन खर्चेर महँगो सावित भएका थिए। यस्तै ओमान भ्रमणमा फ्लप रहेका कुशल मल्ललाई पनि बाहिर राखिएको छ। मल्लले भ्रमण अन्तर्गत ५ खेलमा मात्र ७ रन बनाउन सकेका थिए। भ्रमणमा राम्रो प्रदर्शन गरेता पनि अघिल्लो खेलमा बाहिर राखिएका बिक्रम सोबले भने पुनः मौका पाएनन्।
झा र मल्लको स्थानमा टिमले सिरिजमा पहिलो पटक अनुभवी ब्याट्सम्यान शरद भेसावकर र आरिफ शेखलाई मौका दिएको छ। शरद र आरिफले सिरिज अघि पपुवा न्यु गिनीसंग एक खेलमा मौका पाएका थिए जसपछि दुवैलाई बाहिर राखिएको थियो।
नेपालको अन्तम ११ – ज्ञानेन्द्र मल्ल ( कप्तान ) , कुशल भुर्तेल, आसिफ शेख, शरद भेसावकर, रोहित पौडेल, आरिफ शेख, बिनोद भण्डारी, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, सुशन भारि ( बेन्चमा – गुल्सन झा, कुशल मल्ल, बिक्रम सोब, अविनाश बोहरा, पवन सर्राफ )
नेपाली टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोरको लागि नेपाली टिमको प्रशिक्षकको रुप मा आज अन्तिम दिन हो। उनले ओमान भ्रमणमा नेपाली टिम ओमान पुगेलगत्तै राजिनामा दिएका थिए। अमेरिकासंगको खेल पछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमानसंगको अन्तिम खेल जित्दै प्रशिक्षक व्हाटमोरको सुखद विदाई गर्ने लक्ष्य नेपाली टिमले राखेको बताएका थिए।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। तर दोश्रो र तेश्रो खेलमा नेपाल ओमान र अमेरिकासंग क्रमशः ५ र ६ विकेटले पराजित हुन पुगेको थियो। आज जित दर्ता गरे नेपाल विश्वकप लिग-२ अंकतालिकामा युएई र नामिबियालाई पछि पार्दै चौथों स्थानमा पुग्ने छ।