EPL T20 : श्रीलंकन पूर्वकप्तान चण्डीमाल शरदको टिमबाट खेल्ने, यस्तो बन्यो भैरहवा टिम

२०७८ श्रावण २७, बुधबार १७:१६

एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत शरद भेसावकर कप्तानीको टिम भैरहवा ग्ल्याडीएटर्समा श्रीलंकन क्रिकेटर दिनेश चण्डीमाल अनुबन्धित भएका छन्।

असोज ९ गते देखि २३ गते सम्म आयोजना हुने ईपीएल खेल्ने पक्का भएका चण्डीमाल टेस्ट राष्ट्रबाट खेलीसकेका पाँचौ क्रिकेटर हुन्। यस अघि पाकिस्तानका शाहिद अफ्रिदी, शोयब मलिक र डानिश अजिज तथा वेस्टइन्डिजका कार्लोस ब्राथवेट लिग खेल्ने पक्का भैसकेको छ। अफ्रिदी काठमाडौँ किंग्स-११ बाट तथा अजिज चितवन टाइगर्सबाट खेल्नेछन्। मलिक र ब्राथवेटको पनि खेल्ने टिम घोषणा भएको छैन।

३१ वर्षीय चण्डीमाल श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान चण्डीमालले श्रीलंकाको लागि सन् २०१० मा डेब्यु गरेका थिए। उनले देशको लागि ६२ टेस्ट, १४९ एकदिवसीय र ५७ टि-२० खेलीसकेका छन्। विकेटकिपर ब्याट्सम्यानक भूमिकामा खेल्ने चण्डीमाले टेस्टमा ११ शतक र २० अर्धशतक मद्दतले ४,१५८ रन, एकदिवसीयमा ४ शतक र २३ अर्धशतक मद्दतले ३,६९८ रन तथा टि-२०मा ५ अर्धशतक मद्दतले ८६८ रन बनाएका छन्।

दिनेश चण्डीमाल

२०१४ मा श्रीलंकाले टि-२० विश्वकपको उपाधि जित्दा तथा २०१२ मा उपविजेता हुँदा चण्डीमाल श्रीलंकन टिमको सदस्य रहेका थिए। २३ वर्षको उमेरमा सन् २०१३ मा चण्डीमाल श्रीलंकाको एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए। उनले २०१४ टि-२० विश्वकपमा समेत टिमको कप्तानी गरेका थिए तर बीचमा ढिलो ओभर रेटको कारण एक खेलको प्रतिबन्ध लगाएपछि लासिथ मालिंगाले उनको कप्तानीमा प्रतिस्थापन गरेका थिए। उनले श्रीलंकाको लागि १२ एकदिवसीय अन्तर्राष्ट्रिय, २६ टि-२० अन्तर्राष्ट्रियमा र १९ टेस्टमा कप्तानी गरे।

शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्समा आरिफ शेख, प्रदिप ऐरी, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता र बिकाश आग्री जस्ता नेपाली खेलाडीहरु रहेका छन्। टिमको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमको पूर्व प्रशिक्षक पुबुदु दासानायके रहेका छन्। टिमले अन्य दुई विदेशी खेलाडीको नाम घोषणा गर्न बाँकि रहेको छ।

भैरहवा ईपीएल को अघिल्लो दुई संस्करण २०१७ र २०१८ को उपविजेता टिम हो जो २०१७ फाइनलमा बिराटनगर वारियर्ससंग तथा २०१८ मा ललितपुर पेट्रिएट्ससंग पराजित हुँदै उपाधि जित्न चुकेको थियो।

https://youtu.be/q-YtTDILzHA

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy