शर्जिल खानको आक्रामक शतकका बाबजुद कराची किंग्सलाई पराजित गर्दै इश्लामवाद युनाइटेडले पाकिस्तान सुपर लिगमा लगातार दोश्रो जित दर्ता गर्दै जित यात्रा कायम राखेको छ।
नेसनल स्टेडियम कराचीमा सम्पन्न खेलमा कराचीले दिएको १९७ रनको ठुलो लक्ष्य इश्लामवादले ५ बल बाँकी रहँदै ५ विकेट क्षेतीमा पुरा गरेको हो।
लक्ष्य पछ्याउने क्रममा इश्लामावादले फिलिप साल्ट र कप्तान शदाब खान खाता नखोली आउट भएका थिए। त्यसपछि एलेक्स हेल्सले आक्रामक ब्याटिंग गर्दै फहीम अश्रफसंग २२ बलमा ६२ रनको साझेदारी गरे। मात्र २१ बलमा ८ चौका र १ छक्का मद्दतले ४६ रन बनाएर हेल्स छैठौं ओभरमा वाकस महमुदबाट क्याच आउट भए। त्यस अघि हेल्सले आमिर यामिनले गरेको तेश्रो ओभरमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। उक्त ओभरमा २९ रन आएको थियो जुन पीएसएल इतिहासकै महँगो ओभर हो।
हेल्सको विकेटपछि २५ रन बनाएका अश्रफलाई अर्शद इकबालले बोल्ड गर्दै कराचीलाई खेलमा फर्काए। ८२ रनमा ४ विकेट गुमाएको अवास्थामा इफ्तिखार एहमद र हुसेन तलतले पाँचौ विकेटको लागि ९४ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। १८ औं ओभरमा मोहम्मद नाबीबाट एलबिडब्लु आउट हुनु अघि तलतले ३१ बलमा ४२ रन बनाए। त्यसपछि इफ्तिखारले अविजित ४९ रन बनाउदै टिमलाई जितसम्म पुर्याए जसले ३७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। अन्तिममा आसिफ अलिले ९ बलमा २ छक्का र १ चौका मद्दतले अविजित २१ रन बनाउदै जित सहज बनाए।
कराचीको बलिंगमा इमाद वासिम, मोहम्मद आमिर, वकास मक्सुद, अर्शद इक्बाल र मोहम्मद नाबीले समान १ विकेट लिए।
शर्जिलको शतक
यस अघि टस हारेर ब्याटिंग गरेको कराचीले २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो।
कराचीका ओपनर शर्जिल खान र बाबर आजमले पहिलो विकेटको लागि १७६ रनको साझेदारी गरेका थिए। १९ औं ओभरको पहिलो र दोश्रो बलमा दुवै ब्याट्सम्यान आउट भएका थिए। रन आउट हुनु अघि आजमले ५४ बलमा ६ चौका र १ छक्का मद्दतले ६२ रन बनाए।
पीएसएल करियरमा दोश्रो तथा लिग इतिहासको नवौं शतक बनाएका शर्जिलले ५९ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १०५ रन बनाए। यस अघि शर्जिलले २०१६ मा पीएसएल इतिहासकै पहिलो शतक ( ११७ रन ) बनाएका थिए। लिगमा धेरै शतक बनाउने रेकर्ड कमरान अकमलको नाममा रहेको छ जसले तिन वटा शतक बनाएका छन्।
३२ बलमा अर्धशतक बनाएका शर्जिलले अर्को २२ बल पछि शतक पुरा गरेका थिए। एक समय २३ बलमा २१ रन बनाएका उनले नवौं ओभरमा शदाब खानको ओभरमा लगातार ४ छक्का प्रहार गरेका थिए।
दुवै ब्याट्सम्यानको विकेटपछि ड्यानियल क्रिस्टिएनले अविजित ५ बलमा १२ रन बनाए। मोहम्मद नाबीले अन्तिम बलमा आउट हुनु अघि ७ रन बनाए।
इश्लामावादको बलिंगमा हसन अलि र हुसेन तलतले समान १ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच एलेक्स हेल्स चुनिए।
जितपछि इश्लामवाद २ खेलमा दुवै जितको साथ ४ अंक सहित दोश्रो स्थानमा उल्केको छ। समान अंक रहेको लाहोर नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा छ। तेश्रो नम्बरमा रहेको कराचीको २ खेलमा १ जित र १ हार रहेको छ। पेशावरको पनि २ खेलमा १ जित र १ हार रहेको छ। मुल्तान र क्वेटाले खेलेको दुवै खेलमा हार बेहोरेको छ।
लिग अन्तर्गत शुक्रबार दुईवटा खेलहरु हुनेछन्। ३:४५ बजे बेलुका हुने खेलमा लाहोर कलन्दर्स र मुल्तान सुल्तान्स तथा ८:४५ बजे राति हुने खेल मा पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्सले प्रतिस्पर्धा गर्नेछन्।