आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको छ। उत्कर्ष नेपालद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली क्रिकेटका चर्चित खेलाडी आसिफ शेख प्रमुख अतिथिका रूपमा उपस्थित रहे।

कार्यक्रमको अध्यक्षता उत्कर्ष नेपालका अध्यक्ष रोबिन साहले गरेका थिए भने विशेष अतिथिका रूपमा नेपाल क्रिकेट स्कूलका संस्थापक सुनील थापा थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव विकाश पूर्बेले गरेका थिए भने रचनात्मक निर्देशक सुहयेग फुयाल को विशेष भूमिका रहेको थियो।

कार्यक्रममा बोल्दै आसिफ शेखले नेपाली क्रिकेटको हालको अवस्था र भविष्यबारे विस्तृत चर्चा गरे। उनले हालै सम्पन्न नेपाल प्रिमियर लिग एनपीएले क्रिकेटको उचाइ बढाएको बताउँदै आगामी पाँच वर्षभित्र नेपालले एकदिवसीय र टेस्ट क्रिकेट खेल्ने सम्भावना रहेको धारणा राखे।

“खेल मार्फत नेपाललाई विश्वसामु चिनाउनु पर्छ। यो सपना पूरा गर्न खेलाडीहरूलाई अझ जिम्मेवार बन्नु आवश्यक छ। साथै, क्रिकेट संघ क्यानमा युवा खेलाडीहरूको उचित व्यवस्थापन गरिएमा नेपाली क्रिकेट अझ माथि पुग्न सक्छ,” उनले भने।

नेपाल क्रिकेटको पछिल्लो प्रगतिबारे उनले थप्दै भने, “नेपालले हालै टी२० विश्वकप २०२४ का लागि छनोट भएको छ, जुन ठूलो उपलब्धि हो। यदि यस्तै निरन्तरता रह्यो भने, नेपाल ठूला क्रिकेट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछ।”

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजक संस्था उत्कर्ष नेपालका अध्यक्ष रोबिन साह ले स्वागत मन्तव्य राखेका थिए भने सचिव विकाश पूर्बे ले समापन मन्तव्य दिएका थिए। कार्यक्रम राजा लाउञ्ज क्लब, विश्वज्योति मल, जमल मा सम्पन्न भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy