लिटल फ्लावर प्रिमियर लिग : बिद्या भुषणको जितमा शेर मल्लको अलराउण्ड प्रदर्शन

२०७७ फाल्गुन १५, शनिबार २०:०२

धनगढीमा शनिवारदेखि सुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ ।

धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटामा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । उस्का लागि सुवाश ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए । बलिङमा विद्या भूषणका शेर मल्लले ३, विरेन्द्र नाथ र प्रदिप चन्दले समान २ विकेट तथा सञ्जय केसीले १ विकेट लिए ।

१ सय ५३ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विद्या भूषणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । विद्या भूषणका सुरुवाती ब्याट्सम्यान शेर मल्ल र विरेन्द्र नाथले १ सय २२ रनको साँझेदारी गरे । मल्लले ७० र नाथले ३७ रन बनाए । नरेन साउँदले अविजित रहदै २६ रन बनाए ।

लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिए पनि टीमलाई जिताउन सकेनन् । खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए ।

शेर मल्ल

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । यसअघि प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मेयर ओडले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै खेलकुद प्रतियोगिताहरुले निरन्तरता पाउनु पर्नेमा जोड दिए ।

लिग कम नक आउटका आधारमा प्रतियोगिता भईरहेकोे लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको शाहीले जानकारी दिए । काठमाडौँ र कञ्चनपुरका २/२, रुपन्देही र दाङका एक/एक र कैलालीका १० विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५/५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।

https://www.youtube.com/watch?v=eyrLKSZ8u78

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy