क्यान उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलद्वारा राजिनामा

नेपाल क्रिकेट संघ ( क्यान ) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजिनामा दिएका छन्। बुधबार पत्रकार सम्मेलन आयोजान गर्दै दुवैले क्यानमा नरहने घोषणा गरेका हुन्। राजिनामा दिनुको पछाडी संघमा आफुले चाहेको उद्देश्य पुरा भएको र नयाँ नेतृत्वलाई अवसर दिनु रहेको दुवैले बताएका छन्। श्रेष्ठ र प्याकुरेल २०७६ साल असोजमा भएको क्यान साधारणसभाबाट निर्वाचित भएका थिए

“आईसीसीले क्यानको सदस्यता निलम्बन फुकुवा गरेकै दिन हामीलाई अब पछि हट्नुपर्छ भन्ने लागेको थियो। तर, त्यतिबेला समय अझै परिपक्क भएको छैन भन्ने महशुस गर्‍यौँ। हामीले क्यानको विकल्प क्यान नै हो भनेर स्थापित गर्न ठूलो भुमिका खेल्यौँ। हामीले त्यसका लागि धेरै लडाइँ लड्यौँ । आज त्यो मुद्दा स्थापित भएको छ। यो उपलब्धीमा हामी गौरवान्वित छौँ। यसै गौरवको क्षणमा हामीले अब नयाँ नेतृत्वलाई अवसर दिनका लागि हामी पछि हट्ने निर्णय गरेका छौँ।” पत्रकार सम्मेलनमा प्याकुरेलले बताए।

राजिनामाको पछाडी क्यान भित्रको अन्तरिक विवाद कारण नभएको प्याकुरेलले बताए – “क्यानमा दुई धार छ भन्ने चर्चा छ, त्यो होइन । हामीले क्यानलाई केन्द्र भागमा स्थापित गर्ने आफ्नो अभिभारा पुरा भएको ठानेका छौँ। एकसमय थियो, क्यान नभए पनि क्रिकेट चल्छ भन्ने धरणा जबरजस्त रूपमा विकसित हुन थालेको थियो । क्यानलाई बाइपास गरेर क्रिकेटमा काम गर्न सकिन्छ भनेर राखेपले नै प्रयास गरेको थियो । तर, अन्तत क्यानको विकल्प क्यान नै हो भनेर हामीले स्थापित गरेका छौँ ।”

प्याकुरेलले थप बताए “क्यान स्वतन्त्र रूपमा संचालित छ । क्यान आफ्नो विधानअनुसार पूर्ण अधिकारसहित काम गर्न सक्षम छ । क्यान पूर्ण रूपमा लिकमा फर्किएको छ । पछिल्लो दश १० वर्षमा क्यानलाई स्थापित गर्न हामीले केन्द्र भागमा रहेर काम गर्‍यौँ । यसबीचमा प्राप्त उपलब्धी गर्व गर्न लायक छ । अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्छ भनेर हामीले क्यानबाट अगल हुने निर्णय गरेका छौँ । यसले जसरी पनि पदमा टाँसिएर बस्नुपर्छ भन्ने मान्यताको अन्त्य भएको छ।’’

दुवैले प्रत्यक्ष रुपमा राजिनामाको अन्य कारण नबताए पनि यसको पछाडी क्यान अध्यक्ष चतुर बहादुर चन्द र कोषाध्यक्ष रोशन कुमार सिंहसंग सम्बन्ध मानिएको छ। तर अध्यक्ष चन्दले भने प्याकुरेलसंग असमझदारी नरहेको र राजिनामा फिर्ता लिन आग्रह गरेका छन्। बाह्रखरीसंग कुराकानी गर्दै चन्दले उक्त आग्रह गरेका हुन् – ‘‘हामीबीच कुनै असमझदारी हुनुपर्ने कारण देख्दिन। त्यसैले उहाँहरूलाई आफ्नो निर्णय फिर्ता लिन अनुरोध गर्दछु । मैले त सचिव र उपाध्यक्षलाई सबै किसिमको सम्मान र अधिकार प्रयोग गर्न दिएकै थिएँ। आईसीसी डेभेलपमेन्ट कमिटीमा अशोकजीलाई जिताउन पहल गरेकै हो। खाता सञ्चालनका लागि चेकमा हस्ताक्षर गर्न मैले उहाँलाई अधिकार दिएको छु। पैसा खर्च गर्न मैले उहाँलाई अधिकार दिएको छु। आईसीसीसँग सम्पर्क गर्ने जिम्मेवारी पनि मैले उहाँलाई नै दिएको छु। त्यसैले हामीबीचको असमझदारीका कारण उहाँले राजीनामा दिएको भन्ने मलाई लाग्दैन। के कसो भएको हो त्यो मैले पनि बुझ्ने प्रयास गर्दैछु।’’

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy