धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत प्रतियोगिताको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई ११२ रनको लक्ष्य दिएको छ। रुपन्देहीले अन्तिम बलमा सबै विकेट गुमाउंदै १११ रन बनायो।
टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको रुपन्देहीको सुरुवात राम्रो हुन सकेन। मात्र ५ रनको स्कोरमा व्यक्तिगत १ रन (३ बल) बनाएर प्रदिप ऐरी आउट भएका थिए।
दोश्रो विकेटको लागि बाबर हयातले सन्दिप सुनारसँग मिलेर २४ रनको साझेदारी गरे। हयात व्यक्तिगत १४ रन (१३ बल, १ चौका, १ छक्का) बनाएर आउट भएका थिए। लगत्तै सन्दिप सुनारपनि दुईरन लिने चक्करमा १५ रन(१८ बल, २ चौका) मा आउट भए।
त्यसपछि बिनोद भण्डारीले केहि उत्कृस्ट सटहरु प्रहार गर्दै पुनित मेहरासँग २२ रनको साझेदारी गर्दै टिमको स्कोर ५५ रन बनाएपछि भण्डारी र त्यसलगत्तै पुनित मेहरापनि ३ रनको स्कोरमा आउट भए आउट भए। भण्डारीले १९ रन बनाउँदा १६ बलमा १ चौका र २ छक्का प्रहार गरे।
पारीको अन्त्यतिर सुमित महर्जनले ३५ बलको सामना गर्दै २७ रन बनाए जसमा १ चौका र २ छक्का सामेल थियो। कप्तान बसन्त रेग्मी खाता नखोली सिद्धान्त लोहनीको बलमा बोल्ड हुँदा कृष्ण कार्की ४ रनमा क्याच भए।
बिक्रम सोबले अविजित १६ रन बनाउंदै १० बलमा १ चौका र १ छक्का हाने। पारीको अन्तिम बलमा ललित राजबंशी डायमण्ड डकको सिकार भए।
बलिंगतर्फ सिद्धान्त लोहनीले ३ विकेट लिनेक्रममा ४ ओभरमा १९ रन खर्चिए। त्यस्तै अविनाश बोहरा (४-०-२०-२) र सागर ढकाल (३-०-१८-२) ले समान २/२ विकेट लिए।