सिद्धान्तराज शाहीको अलराउण्ड प्रदर्शनमा श्री शिवशक्तिको जित : रुपन्देही सुपर लिग

२०७५ फाल्गुन १७, शुक्रबार २१:३४

  • विकेटनेपाल – १७ फाल्गुन, शुक्रवार 

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रवारबाट डिभिजन ‘ए’ का खेलहरु सुरु भएका छन्। शुक्रबार सम्पन्न डिभिजन ‘ ए ’अन्तर्गत समूह “डी” को पहिलो खेलमा श्री शिवशक्ति क्रिकेट क्लब भैरहवाले जित दर्ता गर्यो।

दिनको  एक मात्र खेलमा शिवशक्तिले शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई ३ विकेटले पराजित गर्यो। जितका लागि शंकरनगरले दिएको ९८ रनको झिनो लक्ष्य श्री शिवशक्तिले ३०.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

उसको जितमा सिद्धान्तराज शाहीले ३५ रन तथा विष्णु कटरियाले अविजित २६ रनको योगदान दिए। बलिङ्गतर्फ शंकरनगरका रवि क्षेत्रीले ४ विकेट हात पारे। यस्तै सन्दिप सुनारले २ तथा अनिल खरेलले १ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको शंकरनगरले २९.३ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाएको थियो। उसका लागि पुरन विकले सर्वाधिक २२ रन जोडेका थिए। यस्तै तुलबहादुर थापाले १६ र अजय कौशिल्याले ११ रन बनाए। श्री शिवशक्तिको बलिङ्गमा कृष्ण कार्की, सिद्धान्तराज शाही, हरजित सिंह, यम क्षेत्रीले समान २-२ विकेट हात पारेका थिए। यस्तै अक्तर हुसेनको नाममा १ विकेट रहेको थियो।

खेलमा अलराउण्ड प्रदर्शन गरेका सिद्धान्तराज शाही म्यान अफ दी म्याच घोषित भएको खेल संयोजक तथा आयोजक संस्थाका उपाध्यक्ष धिरज अधिकारीले बताए।

शनिबार डिभिजन ‘ए’अन्तर्गत समूह “ए” मा रहेका लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र प्रोफेसनल मास्टर्स ११ भैरहवाबीच प्रतिस्पर्धा हुनेछ। चैत ६ गतेसम्म चल्ने लिगमा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन्। यस्तै प्रत्येक दिनको म्यान अफ द म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ।

समाचार स्रोत : प्रशान्त मल्ल

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy