जिम्बाबेका स्टार खेलाडी सिकन्दर राजा काठमाण्डौ किंग्स एघारबाट खेल्ने

  • विकेटनेपाल – १२ भदौ, मंगलवार

आगामी डिसेम्बर महिनामा राजधानीमा संचालन हुने एभरेष्ट प्रिमियर लिगमा जिम्बाबेका स्टार अलराउण्डर सिकन्दर राजा समेत खेल्ने भएका छन्। योसंगै राजा टेस्ट राष्ट्रबाट इपिएल खेल्ने केभिन ओ ब्रायनपछि दोस्रो खेलाडी समेत बनेका छन्।

एभरेष्ट प्रिमियर लिगको एक फ्रेन्चाईज काठमाण्डौ किंग्स एघारले आफ्नो तेस्रो बिदेशी खेलाडीका रुपमा सिकन्दर राजालाई भित्र्याएको हो। यसअघि आयरल्याण्डका स्टार खेलाडी केभिन ओ ब्रायन र युएईका कप्तान रोहन मुस्तफालाई टोलीले आफ्नो बिदेशी खेलाडीको रुपमा सम्झौता गरिसकेको थियो।

अन्तिम सिजन काठमाण्डौले श्रीलंकन स्टार फर्भेज महारुफलाई टोलीमा सम्मिलित गरेपनि प्रतियोगितामा प्रदर्शन भने खास रहन सकेको थिएन। सो सिजन काठमाण्डौले महारुफसंगै श्रीलंकाका अक्षु फर्नान्डो र भारतीय खेलाडी सागर कुमारलाई टोलीमा समाबेस गरेको थियो। पछिल्लो समय नेपाली घरेलु क्रिकेटमा बिदेशी खेलाडी भित्र्याउने चलन बढेको छ। धनगढी प्रिमियर लिग (डिपिएल) र एभरेष्ट प्रिमियर लिग (इपिएल) मा केहि नाम चलेका बिदेशी खेलाडीहरु केभिन ओ ब्रायन, सिकन्दर राजा, रोहन मुस्तफा, बाबर हयात, अन्शुमान राथ जस्ता खेलाडीहरुको सहभागिताले प्रतियोगितामा अझ रौनक थपेको छ।

Sikandar Raza Century
जिम्बाबेमा सम्पन्न आइसीसी विश्वकप छनौट प्रतियोगिताको पहिलो खेलमा नेपाल बिरुद्ध शतक बनाएपछि सिकन्दर राजा

को हुन् सिकन्दर राजा ?

पाकिस्तानमा जन्मिएका सिकन्दर राजाले जिम्बाबेबाट आफ्नो क्रिकेट करियर अघि बढाउंदै जिम्बाबेका लागि १२३ अन्तर्राष्ट्रिय खेल खेलीसकेका छन्। विश्व क्रिकेटमा सम्मानजनक दृष्टिले हेरिने जिम्बाबेका लागि खेल्दै उनले ३५२५ रन बनाएका छन् भने आफ्नो नाममा ७२ विकेट समेत प्राप्त गरेका छन्। आक्रामक ब्याटिंग गर्दै आफ्नो स्वाभाविक खेल खेल्न रुचाउने राजाले टि-२० क्रिकेटमा भने ७६ खेल खेल्दै १२८.७२ को स्ट्राइक रेटमा १६३१ रन जोड्दै २७ विकेट समेत चट्काएका छन्। केहि महिना अघि जिम्बाबेमा नै सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा नेपाल बिरुद्ध आक्रामक ब्याटिंग गर्दै राजाले शतक समेत बनाएका थिए।

एभरेष्ट प्रिमियर लिगमा प्रत्येक टोलिले बिदेशी खेलाडी राख्नु पर्ने नियमको पालना गर्दै सोमबार मात्र चितवन टाइगर्सले समेत आफ्ना दुई बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको थियो। चितवनबाट प्रतियोगिता खेल्नका लागि इंग्ल्याण्डका पुर्व यु-१९ कप्तान म्याक्स होल्डेन र काउन्टी क्रिकेटमा मिडलसेक्सका भरपर्दा अलराउण्डर जेम्स फुलर नेपाल आउने भएका हुन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy