राष्ट्रिय खेलकुद विकास ऐन-२०७७ राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि राष्ट्रिय खेलकुद परिषद ( राखेप ) का सदस्य सचिव रमेश सिलवाल पदमुक्त भएका छन्।
खेलकुद मन्त्रालयकाले गत बिहीबारबाट लागू हुने गरी राष्ट्रिय खेलकुद विकास ऐन ल्याएसँगै राखेपका बोर्ड सदस्यहरुको कार्यकाल समाप्त भएको थियो।
युवा तथा खेलकुद मन्त्रालयले सहसचिव भक्तराज ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएको छ। नयाँ सदस्य सचिव नियुक्त नभएसम्म ढकालले कार्यभार सम्हाल्नेछन्।
सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए । राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्य–सचिव ढकाललाई बधाइ दिए ।
राष्ट्रिय खेलकुद विकास ऐनको परिच्छेद ४ को दफा १७ (१२) मा सदस्य सचिवको नियुक्ति नभएको वा कुनै कारणले रिक्त रहेमा मन्त्रालयले संघीय निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम कर्मचारीलाई सदस्य सचिवको रुपमा कामकाज गर्ने गरी तोक्ने सक्ने उल्लेख छ। ऐनको यही दफामा टेकेर मन्त्रालयले ढकाललाई राखेपको जिम्मेवारी सुम्पिएको हो।
यो पनि पढ्नुस – राखेपद्वारा लामा र गिरी क्यान सदस्यमा सिफारिस