सिन्धुपाल्चोकका क्रिकेटरलाई भारतमा प्रशिक्षणको अवसर

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको विशेष अभियान “एक पालिका दुई खेलाडी प्रशिक्षण” अन्तर्गत पाँच पोखरी थाङपाल गाउँपालिका का दुई खेलाडीलाई भारतको उत्कृष्ठ एकेडेमीमा प्रशिक्षणमा पठाएको केही समयमा नै पुनः सिन्धुपाल्चोक क्रिकेट संघको समन्वयमा इन्द्रावती गाउँ पालिकाको एक खेलाडीलाई भारतमै प्रशिक्षणका लागि विदाई गरेको छ।

गाउँपालिकासँग दुई खेलाडीका लागि सम्झौता भएपनि एक खेलाडीको व्यक्तिगत कारणले दशैं लगत्तै विदाई गर्ने गरी इन्द्रावतीका एकनाथ नेपाललाई आज विदाई गरिएको जिल्ला क्रिकेट संघका अध्यक्ष विजय धितालले बताए।

विदाई कार्यक्रममा आफ्नो संदेश पठाउँदै पालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको बताउँदै यो सहकार्यको सुरुवात मात्र भएको बताउनु भयो। यसैगरी इन्द्रावती गाउँपालिका का प्रवक्ता शशिनाथ आचार्यले पालिकामा लुकेर रहेका प्रतिभालाई एकीकृत गरी समग्र जिल्ला क्रिकेटको उचाईलाई माथि बढाउने जिल्ला क्रिकेट संघको यस किसिमको कार्यको खुलेर प्रसंसा गर्नुभयो।

आफ्नै पालिकाको खेलाडी एकनाथ नेपाललाई विदाई गर्दै जिल्ला क्रिकेट संघका सदस्य प्रकाश सापकोटाले समग्र जिल्लाको क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघको “एक पालिका दुई खेलाडी प्रशिक्षण” कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। विदाई कार्यक्रम इन्द्रावती गाउँ कार्यपालिका का प्रमुख सल्लाहकार डाल बहादुर सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy