सिंगापुरका ३ खेलाडी जो नेपालको लागि खतरनाक सावित हुन सक्छन्

अष्ट्रेलियामा आयोजना हुने सन् २०२० को टि२० विश्वकपको रोडम्यापको रुपमा रहेको टि२० विश्वकप एसिया छनोट फाइनलको अन्तिम खेलमा नेपालले आयोजक सिङ्गापुरको सामना गर्दैछ। खेल आइतबार बिहान ७:१५ बजे सुरु हुनेछ।

यस प्रतियोगिताबाट एउटा मात्र टिम ग्लोबल क्वालिफायरको लागि छनोट हुने भएकाले अन्तिम खेल बाँकी रहँदा अङ्कतालिकाको शिर्ष स्थानमा रहेका दुई टिमको भिडन्तले प्रतियोगितालाई रोमान्चक बनाएको छ। भोलि हुने खेल जित्ने टिम अर्को चरणमा प्रवेश गर्ने छ त्यसैले यस खेललाई अघोषित फाइनलको रुपमा हेरिएको छ।

खेलमा नेपालको आगामी यात्राको लागि सिंगापुरका यी खेलाडीसँग सजगता अपनाउनुपर्ने देखिन्छ।

सुरेन्द्रन चन्द्रमोहन

सिंगापुरको लागि मात्र २ टि२० अन्तराष्ट्रियको अनुभव भएका चन्द्रमोहनले आफ्नो अन्तराष्ट्रिय करियरमा गज्जबको सुरुवात गरेका छन्।  यसै प्रतियोगितामा कतार बिरुद्द डेब्यु गर्दै डेब्यु खेलमा नै अर्धशतक बनाउनबाट मात्र ३ रनले चुकेका उनले दोश्रो खेलमा मलेसिया बिरुद्द आफ्नो टि२० आई करियरको पहिलो अर्धशतक प्रहार गरे।

उनले जारि प्रतियोगिताको २ खेलमा क्रमश: ४७ रन र अविजित ५० रनको पारि खेल्दै ९७ को औसतमा ९७ रन नै बनाएका छन्। ओपनिंग ब्याटिंग गर्ने क्रममा उनको स्ट्राइक रेटपनि ११९ भन्दा माथिको रहेको छ।

यसअघि यसै प्रतियोगिताको छनोटको रुपमा आयोजित एसियाली छनोट समुह ‘बि’ को खेलमा नेपाल बिरुद्द बसन्त रेग्मीको बलमा आउट हुनुअघि २५ रन (३२ बल, ३ चौका) को पारि समेत खेलेका थिए। उक्त प्रतियोगिताको अन्तिम खेलमा सिंगापुर ८१ रनमा अलआउट भएपछी नेपालले ब्याटिंग गर्दा पानि परेकाले खेल रद्द भएको थियो। नेट रन रेटको आधारमा नेपाल समुह बिजेता तथा सिंगापुर उपविजेता हुँदै यस प्रतियोगिताको लागि छनोट भएका थिए।

मनप्रित सिंह

आयोजक सिंगापुरको लागि विकेट किपरको भूमिकामा रहेका अर्का महत्त्वपूर्ण खेलाडी मनाप्रित सिंह हुन्। उनले जारि प्रतियोगिता अन्तर्गत  क्रमश: कतारसँग ३४ रन (१८ बल, ३ चौका, १ छक्का) र मलेसियासँग अविजित २६ रन (२८ बल, २ चौका) को पारि खेलेका छन्। चौथो नम्बरमा ब्याटिंग गर्नेक्रममा कतारसँग १०५ रनमा २ विकेट गुमेपछि तेस्रो विकेटको लागि ४५ रन र चौथो विकेटको लागि २० रनको साझेदारी गरेका छन्। त्यस्तै मलेसियासँग मात्र १८ रनमा २ विकेट गुमेपछि तेस्रो विकेटको लागि अविजित ७८ रनको साझेदारी गर्दै ९७ रनको लक्ष्य पुरा गर्न योगदान दिएका छन्। यसका साथै उनले किपिंग गर्दै १ स्टम्पिंग र १ क्याच गरेका छन्।

यसअघि यसै प्रतियोगिताको छनोटको रुपमा आयोजित एसियाली छनोट समुह ‘बि’ को खेलमा नेपाल बिरुद्द सन्दिप लामिछानेको बलमा स्टम्प आउट हुनुअघि १० रन (२१ बल) को पारि समेत खेलेका थिए।

जनक प्रकाश

सिंगापुरले प्रतियोगितामा अहिलेसम्म २ खेल खेल्दा जनक प्रकाशले सबैभन्दा धेरै विकेट र किफायती बलिंग गरेका थिए। एक खेल बर्षाले रद्द हुँदा बाँकी २ खेलमा प्रकाशले ७ ओभर बलिंग गर्दै १ ओभर मेडन सहित २७ रन खर्चेर ४ विकेट लिएका छन्। उनले पहिलो खेलमा कतार बिरुद्द १५ रन खर्चेर ३ विकेट लिंदै टि२० आई करियरको उत्कृस्ट सुरुवात गरेका थिए। दोश्रो खेलमा मलेसियासँग १२ रनमा १ विकेट लिएका थिए। जारि प्रतियोगितामा प्रत्येक ओभरमा मात्र ३.८५ रन दिएका उनले आबश्यक परेको खण्डमा ब्याटिंग पनि गर्न सक्छन।

नेपाल बिरुद्द यसअघि को खेलमा उनले १ रन मात्र बनाउन सकेका थिए भने दोश्रो पारीमा बर्षाले खेल हुन नसक्दा बलिंग गरेका थिएनन्।

 यी ३ खेलाडीका साथै ब्याटिंगमा १४० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिंग गरेका तथा अष्ट्रेलियाको बिग ब्यास लिगको समेत अनुभव भएका टिम डेविड र बलिंगमा ३ विकेट लिएका विजयकुमारको प्रदर्शन महत्त्वपूर्ण रहनेछ। सिंगापुर घरेलु भूमिमा समेत खेलिरहेकोले नेपालले खेलाडीको साथै टुवेल्थ म्यानसँग पनि खेल्नुपर्ने हुन्छ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy