सिंगापुरमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत रोमान्चक तेश्रो खेलमा आयोजक सिंगापुरले जिम्बाब्वेलाई स्तब्ध पारेको छ। टेस्ट राष्ट्र बिरुद्ध सिंगापुरको यो पहिलो खेल थियो जुन खेलमा जित हात पार्दै सिंगापुरले इतिहास रचेको छ।
सिरिज अन्तर्गत ३ खेल सम्पन्न हुँदा सिंगापुर, नेपाल र जिम्बाब्वेले १/१ जित दर्ता गरेका छन्। यस अघि उसले पहिलो खेलमा नेपाललाई जिम्बाब्वेले ५ विकेटले पराजित गरेको थियो। दोश्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो। नेपाल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ।
इन्डीएन एसोसिएसन मैदानमा वर्षाले ढिलो सुरु हुँदा १८ ओभरमा घटाइएको खेलमा सिंगापुरले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले निर्धारित १८ ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो र ४ रनले पराजित हुन पुग्यो।

१३.२ ओभरमा १४२/२ को अवस्थामा पुगेको जिम्बाब्वेले लगातार जसो ३ विकेट गुमाउदा १६.१ ओभरमा १६५/५ को स्थितिमा पुगेको थियो। त्यसपछि सिंगापुर खेलमा हावी भयो। अन्तिम २ ओभरमा जितको लागि १७ रन आवस्यक रहंदा १७ औं ओभर बलिंग गरेका जनक प्रकासले मात्र ७ रन खर्चेर २ विकेट लिएका थिए।
त्यसपछि अन्तिम ओभरमा आवस्यक १० रन जिम्बाब्वे बनाउन असफल रह्यो। अन्तिम ओभरमा सिद्धान्त सिंहले पहिलो बल डट गरेका थिए भने दोश्रो बलमा १ रन, तेश्रो बलमा २ रन तथा चौथो बलमा १ रन दिएका थिए। अन्तिम २ बलमा ६ रन आवस्यक रहंदा पाँचौ बलमा जिम्बाब्वे ब्याट्सम्यान मरुमा रन आउट हुन पुगेका थिए। त्यसपछि अन्तिम बलमा ६ रन आवस्यक रहंदा टोनी मुन्योंगाले १ रन मात्र लिन सकेका थिए।
सिंगापुरको बलिंगमा अमजद मेहबुब ( ४-०-२०-२ ) , जनक प्रकास ( ४-०-३४-२ ) ले २/२ विकेट लिए।

जिम्बाब्वेको लागि कप्तान सन विलियम्सले सर्वाधिक ६६ रन बनाए जुन क्रममा मात्र ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। यस्तै ओपनर रेगिस चकाभाले मात्र १९ बलमा ६ चौका र ३ छक्का मदतले ४८ रन बनाए। टिनोटेण्डाले ३२ रन बनाए। (स्कोरकार्ड)
सिंगापुरको ब्याटिंग
यस अघि टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा निर्धारित १८ ओभरमा सिंगापुरले ९ विकेट गुमाएर १८१ रन बनाएको थियो।
टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सिंगापुरले बनाएको यो तेश्रो ठुलो योगफल हो। नेपाल बिरुद्ध यसै वर्ष टि-२० विश्वकप छनौट प्रतियोगितामा सिंगापुरले सबैभन्दा धेरै १९१ रनको योगफल बनाएको थियो।
सिंगापुरको लागि कप्तान टिम डेभिड र मनप्रित सिंहले समान ४१ रन बनाए। डेभिडले २४ बलमा ४ छक्का र २ चौका तथा सिंहले २३ बलमा १ छक्का र ४ चौका प्रहार गरे। यस्तै ओपनर रोहन रंगराजनले २२ बलमा ८ चौका मदतले ३९ रन बनाए। जिम्बाब्वेको बलिंगमा रायन बर्लले सर्वाधिक ३ विकेट लिए। यस्तै रिचर्ड नगर्भाले २ तथा नेभिल्ले माडजिभा र सिङ विलियम्सले १/१ विकेट लिए।
सिरिज अन्तर्गत चौथो खेल सोमबार नेपाल र जिम्बाबे बीच हुनेछ। खेल नेपाली समय ५:१५ बजे सुरु हुनेछ।